ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

लन्डन । ‘एकपटकको नेपाली, सधैँको नेपाली’ विदेशमा बस्ने नेपालीहरूले वर्षौंदेखि उठाउँदै आएको यो नारा प्रायः नागरिकता, राजनीतिक, आर्थिक र सामाजिक अधिकारको बहससँग जोडिन्छ। तर मातृभूमिमा जब विपत्ति आउँछ, यही नाराको अर्को र अझ भावनात्मक अर्थ देखिन्छ, एकपटक नेपालसँग जोडिएको मन सधैँ नेपालकै रहन्छ अर्थात ‘एकपटकको नेपाली मात्र होइन मन पनि सधैँको नेपाली’।

विदेशमा बस्ने नेपालीहरू नेपालसँग अधिकार मात्रै खोज्दैनन्। देशलाई पर्दा उनीहरू आफ्नो सामर्थ्यअनुसार सहयोगका हात पनि फैलाउँछन्। महाभूकम्प होस्, कोभिड महामारी होस् वा बाढीपहिरोजस्ता प्राकृतिक विपत्ति, प्रवासी नेपाली समुदायले पटक–पटक मातृभूमिको दुःखमा आफ्नो उपस्थिति देखाउँदै आएको छ। अहिले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेलायतमा देखिएको सहयोगको लहर त्यसैकोघटनाको खबर सार्वजनिक भएलगत्तै बेलायतका नेपाली संघसंस्था, व्यवसायी, सामाजिक अभियन्ता, चिकित्सक, धार्मिक संस्था र सर्वसाधारणबाट सहयोगको घोषणा हुन थाल्यो। कतिपयले रकम नेपाल पठाइसकेका छन्, कतिपयले संकलन अभियान चलाइरहेका छन् भने केही संस्थाले प्रभावित क्षेत्रमा पुगेर विभिन्न किसिमका राहत तथा पुनःस्थापनामा हातेमालो गरिरहेका छन्। प्राप्त विवरणअनुसार बेलायतस्थित नेपाली समुदायबाट मात्रै करोडौँ रुपैयाँ बराबरको सहयोग संकलन तथा हस्तान्तरण भइसकेको छ। पछिल्लो उदाहरण बनेको छ।

बेलायतका प्रभावशाली नेपाली संस्थामध्ये तमुधिं यूकेले बाढीपीडितका लागि एक करोड ११ लाख रुपैयाँभन्दा बढी सहयोग जुटाएर प्रधानमन्त्री राहत कोषमा जम्मा गरिसकेको छ भने तमु धीं यूके पदाधिकारी बेलायतबाट प्रभावित क्षेत्रमै पुगेर राहत सामग्री समेत वितरण गरि फर्किएका छन् ।त्यस्तै लन्डनका नेपाली फेसन उद्यमी रविन्द्रजंग लामिछाने अध्यक्ष रहेको द लामिछाने फाउण्डेशनबाट एक करोड ७ लाख रुपैयाँ सहयोग गरिएको छ ।

बेलायतस्थित च्यारिटी कमिशनमा दर्ता भएको द लामिछाने फाउण्डेशनले बिहीबार लन्डनस्थित नेपाली दूतावासको बैंक खातामा ५१ हजार ७ सय २७ पाउण्ड जम्मा गरेको हो ।बेलायतका दुई एनआरएनए यूके समूह पनि आ–आफ्नै ढंगबाट राहत अभियानमा जुटे । राजेन्द्र पुडासैनी नेतृत्वको एनआरएनए यूकेले प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँसम्म पठाउने लक्ष्यसहित आधा भन्दा बढी रकम पठाइसकेको भने प्रेम गाहामगर नेतृत्वको समूहले छुट्टै अभियान चलाउँदै प्रभावित क्षेत्रमा पुगेर करिब १३ लाख रुपैयाँ बराबरको राहत तिरणमा सहयोग गरेको छ ।

सहयोगको यो लहर कुनै एक संस्था, जातीय समुदाय वा पेशागत समूहमा सीमित छैन। एनआरएनए स्कटल्यान्डले ५१ लाख रुपैयाँ सहयोग गरेको छ भने लन्डन पशुपतिनाथ मन्दिरबाट ५० लाख रुपैयाँ प्रदान भएको छ । एभरेस्ट इन ग्रुपले ४१ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ। शान्ति नेपाली समाज बेलायतबाट ३९ लाख रुपैयाँभन्दा बढी सहयोग पठाइएको विवरण छ भने तमु समाज यूकेबाट २५ लाख रुपैयाँभन्दा बढी तथा अक्सफोर्डस्थित नेपाली समुदायबाट २५ लाख ५० हजार रुपैयाँ सहयोग गरिएको छ।

बेलायतमा युवा नेपाली उद्यमी छोङ शेर्पाले स्थापना गरेको सुसी फ्रेन्चाइज ‘इरो सुसी’ले बाढीपीडितको राहतका लागि २५ लाख रुपैयाँ प्रदान गरेको छ। संस्थाले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको जनाएको छ। क्षेत्री समाज यूकेले २३ लाख ८२ हजार रुपैयाँ, पिटरबरोस्थित काठमाडौं लाउन्जले २० लाख रुपैयाँ र रेस्टुरेन्ट व्यवसायी खरेल दाजुभाइले २० लाख ११ हजार रुपैयाँ सहयोग गरेका छन्।

बेलायतका स्थानीय नेपाली समुदाय पनि राहत अभियानमा उत्तिकै सक्रिय देखिएका छन्। साझा नेपाली समाज बेलायतले १३ लाख रुपैयाँ सहयोग गरेको छ भने पञ्चासे हर्पनडाँडा समाज यूकेले १३ लाख रुपैयाँ प्रदान गरेको छ। बसेरी रेष्टुरेन्टले च्यारिटी कार्यक्रम गरेर संकलित १२ लाख ७० हजार रुपैयाँ नेपाल पठाइसकेको छ । नेपाली समुदाय वाटफोर्डले ९ लाख ७५ हजार रुपैयाँ सहयोग गरेको छ।

लन्डनको बेक्सलीमा बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गर्दै राहत सहयोग संकलन गरिएको थियो। स्थानीय मेयर र काउन्सिलरसहित १६० भन्दा बढी सहभागी उक्त कार्यक्रम तथा अभियानबाट बेक्सली नेपाली समाजले करिब ६ हजार ५ सय पाउन्ड अर्थात् १३ लाख रुपैयाँभन्दा बढी रकम प्रदान गरयो ।

साउथ वेस्ट नेपाली समाज यूकेले प्रधानमन्त्री राहत कोषमा १० लाख ३५ हजार रुपैयाँ जम्मा गरेको छ। नवलपुर जिल्ला समाजले १० लाख रुपैयाँभन्दा बढी तथा पासा पुचः गुथि यूकेले १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन्।

 

आइएमइ लण्डनका निर्देशक कमल पौडेल आबद्ध नेप्लिज ब्रिटिस कम्युनिटी यूकेले पनि १० लाख रुपैयाँ सहयोग गरिसकेको छ र थप १० लाख रुपैयाँ संकलन अभियान चलाइरहेको छ।

लन्डनस्थित आईएमई लन्डनले पनि १० लाख रुपैयाँ सहयोग गरेको छ। नेप्लिज डक्टर्स एसोसिएसन यूकेले ११ लाख रुपैयाँ सहयोग गरेको विवरण छ।

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष कुल आचार्यले व्यक्तिगत तथा होली काउ कम्पनीका तर्फबाट ११ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेका छन्। ब्रिज इन्टरनेशनल एजुकेसनल कन्सल्टेन्सीले पनि ११ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ।

युमी इन्टरन्याशनल लिमिटेडका निर्देशक उत्तम नेपाल तथा होली काउ समूहका अध्यक्ष कुल आचार्यले नेपालमा गत २६ अगष्टको विपदमा परी निधन भएका शवहरुको सनाखत गर्न सघाउन दुईवटा डीएनए किट सहित अन्य उपकरण किनेर नेपाल पठाउन लागेको जानकारी दिएका छन् । उत्तम नेपालले सन् २०१५ को महाभूकम्प पछि आफैँले पढेको धादिङस्थित विद्यालय पुनर्निर्माणमा सघाएको स्मरण गर्दै आफ्नी छोरी सुष्मा नेपालले जष्टगिभिङ पेज खोलेर २० हजार पाउण्ड भन्दा बढी संकलन गरिसकेको जानकारी दिए ।

युमी इन्टरन्याशनल लिमिटेडले बाढी पीडितका लागि एक करोड रुपैयाँ दिने प्रतिवद्धता जनाएको छ ।

चार भञ्ज्याङ तमु समाज यूकेले १५ लाख रुपैयाँ सहयोग गरेको छ। त्यसमध्ये पाँच लाख रुपैयाँ तत्काल प्रभावित क्षेत्रमा पठाइएको र बाँकी १० लाख रुपैयाँ नेपाल, बेलायत, हङकङ, युरोप, जापानलगायत विभिन्न देशमा रहेका आफ्ना सदस्य तथा एकाइसँग समन्वय गरेर जुटाउने बताएको छ।

गैर आवासीय नेपाली संघ यूकेका पूर्व अध्यक्ष एवम् समाजसेवी सुनिलबाबु खड्काले पनि ८ लाख भन्दा बढी रकम राहत कोषमा पठाएका छन् ।

लेस्टरस्थित ओजी लिमिटेडअन्तर्गतका रेस्टुरेन्टहरूले ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेका छन्। त्यसमा निर्देशक दयानिधि सापकोटाले व्यक्तिगत रूपमा २ लाख ५५ हजार ५५५ रुपैयाँ योगदान गरेका छन्।

चितवन एड ट्रष्ट (क्याट) यूकेले ५ लाख रुपैयाँ सहयोग गरेको छ। अध्यक्ष राजु आचार्यले यसलाई आर्थिक सहयोग मात्रै नभई विपत्तिमा परेका नेपालीप्रतिको ऐक्यबद्धता, जिम्मेवारी र मानवीय संवेदनाको अभिव्यक्तिका रूपमा लिएका छन्।

गल्कोट समाज यूकेले ५ लाख १५ हजार ७५८ रुपैयाँ, पोखरेली मञ्च यूकेले ५ लाख रुपैयाँ, हाम्रो गुठी यूकेले ४ लाख रुपैयाँ र ग्लोवल पर्वत समाजले ३ लाख २५ हजार रुपैयाँ सहयोग गरेका छन्। नेपाली समाज नटिङहमले २ हजार ५ सय पाउन्ड अर्थात् पाँच लाख रुपैयाँभन्दा बढी सहयोग पठाएको छ र दोस्रो चरणमा समुदायबाट थप रकम जुटाउने अभियान जारी छ।

नेपाली महिलाको सांस्कृतिक पर्व तीजलाई मानवीय सेवासँग जोड्दै नेप्लिज लेडिज कम्युनिटी लन्डन, बरो अफ हन्स्लोले ४ लाख १२ हजार ६ सय ९६ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ भने करिब ८२ हजार रुपैयाँ पीडित परिवारलाई पांच हजारका दरले वितरण गरेको छ। यसैगरी सपोर्ट नेपाल यूकेले ३ लाख बढी सहयोग गरेको छ ।

मतिना फाउण्डेशनले २ लाख ४६ हजार रुपैयाँ, धादिङ समाज यूकेले करिब २ लाख ४० हजार रुपैयाँ र ग्रीनवीच ममीज फोरमले २ लाख ३८ हजार रुपैयाँ सहयोग गरेका छन्। म्याट्रिक्स ट्यालेन्ट्स र मिलानोयर इभेन्ट्सले संयुक्त रूपमा २ लाख रुपैयाँ तथा श्रृजनशील लेस्टर नेपाल यूकेले २ लाख रुपैयाँ सहयोग गरेका छन्।

ए स्टार फाइनान्सियल सोलुसन्स यूके, गोर्खा मिडिया यूकेलगायत अन्य थुप्रै व्यक्ति तथा संघसंस्थाले पनि नेपालका बाढीपीडितका सहयोग गरेका छन्।

एनआरएनए अभियानमा ६ करोड ६८ लाख बढी संकलन

भोटेकोशी–रसुवा बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरेको विश्वव्यापी अभियानमा हालसम्म ६ करोड ६५ लाख भन्दा बढी रकम संकलन भएको छ । अभियानअन्तर्गत विभिन्न देशबाट प्राप्त कुल सहयोग प्रतिवद्धता भने ९ करोड ३९ लाख ६६ हजार २२६ रुपैयाँ छ ।

बाढी भएलगत्तै एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा राहत सामग्रीसहितको टोली प्रभावित क्षेत्रमा पुगेर राहत तथा उद्धार कार्यमा जुटेको थियो। त्यसलगत्तै डा. शर्माको संयोजकत्वमा ‘रसुवा बाढी प्रभावितका लागि राहत तथा उद्धार मूल समिति’ गठन गरी प्रभावित परिवारको उद्धार, राहत र अन्य आवश्यक सहयोगका लागि तत्काल पाँच करोड रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने निर्णय गरिएको थियो।

संघले पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ हस्तान्तरण गरिसकेको छ। त्यसपछि विश्वका विभिन्न मुलुकमा रहेका राष्ट्रिय समन्वय परिषद् (एनसीसी), नेपाली संघसंस्था तथा समुदायमार्फत सहयोग संकलन अभियानलाई निरन्तरता दिइएको हो।

संकलित रकममध्ये बेलायतबाट पहिलो चरणमा ५३ लाख ४३ हजार २४४ रुपैयाँ २५ पैसा नेपाल पठाइएको छ। कतारबाट पहिलो चरणमा ४६ लाख ६ हजार ८८३ रुपैयाँ, अष्ट्रेलियाबाट पहिलो चरणमा ३१ लाख १ हजार ५८१ रुपैयाँ ७६ पैसा, क्यानडाबाट पहिलो चरणमा २७ लाख ३ हजार ४०७ रुपैयाँ ५० पैसा केन्द्रमा जम्मा गरिसकेको छ।

 

त्यस्तै, बहराइनबाट २५ लाख ७९ हजार ३२८ रुपैयाँ, न्युजिल्यान्डबाट २१ लाख ५२ हजार ८९९ रुपैयाँ ७३ पैसा, चीनबाट पहिलो चरणमा २० लाख ५४ हजार, स्पेनबाट २० लाख ४३ हजार, ८१६.८०, हङकङबाट १८ लाख ७७ हजार २३२ रुपैयाँ ५० पैसा, स्वीडेनबाट १८ लाख ३१ हजार ५३५ रुपैयाँ तथा नर्वेबाट १७ लाख ८९ हजार ८४२ रुपैयाँ ९६ पैसा प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ।

इराकबाट १४ लाख ९ हजार ११७ रुपैयाँ २४ पैसा, ओमानबाट १३ लाख १५ हजार रुपैयाँ, फिलिपिन्सबाट १२ लाख रुपैयाँ, दक्षिण कोरियाबाट ११ लाख १० हजार ८१२ रुपैयाँ, नेदरल्यान्ड्सस्थित स्टिचिङ नेपाल फन्डबाट १० लाख ५५ हजार १९३ रुपैयाँ ६० पैसा, लग्जम्बर्गबाट १० लाख ४६ हजार ५४८ रुपैयाँ ८६ पैसा तथा साउदी अरेबियाबाट १० लाख रुपैयाँ संकलन भएको छ।

यसैगरी, सेसेल्सबाट करिब ८ लाख ७५ हजार रुपैयाँ, टर्कीबाट ७ लाख ५० हजार ३३७ रुपैयाँ, कंगोबाट पहिलो चरणमा ६ लाख ५८ हजार ६६३ रुपैयाँ र संयुक्त अरब इमिरेट्स (यूएई) बाट पहिलो चरणमा ६ लाख ५८ हजार ६६३ रुपैयाँ प्रदान गरिएको छ। म्यानमारबाट ६ लाख १ हजार रुपैयाँ, इजरायलबाट ५ लाख ४ हजार ३८५ रुपैयाँ तथा आयरल्यान्ड, रुस र थाइल्यान्डबाट पहिलो चरणमा पाँच–पाँच लाख रुपैयाँका दरले केन्द्रको खातामा जम्मा भएको संघले जनाएको छ।

विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीलाई मातृभूमिमा आइपरेको विपत्तिमा एकताबद्ध गर्दै प्रभावित परिवारलाई तत्काल सहयोग उपलब्ध गराउने उद्देश्यले एनआरएनएले अभियान सञ्चालन गरेको हो। संकलित रकम बाढी प्रभावितको राहत, उद्धार, पुनःस्थापना तथा अन्य आवश्यक सहयोगमा परिचालन गरिने संघले जनाएको छ।

गैरआवासीय नेपाली संघ सचिवालय, बालुवाटारले २०८३ असोज १४ गते सार्वजनिक गरेको वित्तीय विवरणअनुसार विभिन्न मुलुक र संघसंस्थाबाट प्रतिबद्ध रकम आउने क्रम जारी रहेकाले संकलित रकम अझै बढ्ने अपेक्षा गरिएको छ।

यी नाम र रकमले बेलायतको नेपाली समुदायमा फैलिएको सहयोगको एउटा हिस्सा मात्र देखाउँछन्। कतिपयले संस्थागत रूपमा सहयोग गरेका छन्, कतिपयले व्यक्तिगत रूपमा। कसैले करोडौँ रुपैयाँ दिएको छ, कसैले लाखौँ र कसैले आफ्नो क्षमताअनुसार केही पाउन्ड। योगदानको आकार फरक भए पनि त्यसको केन्द्रमा रहेको भावना एउटै छ, मातृभूमिलाई परेको चोट आफ्नो पनि हो।

लन्डनस्थित नेपाली दूतावासले समेत बेलायतमा रहेका नेपाली तथा नेपालका शुभेच्छुकलाई राहत, उद्धार, पुनःस्थापना र पुनर्निर्माणका लागि स्वेच्छिक आर्थिक सहयोग गर्न आह्वान गर्दै सहकार्यको लागि हात फैल्याएपछि दूतावासमार्फत  विभिन्न शहरमा रहेका संघसंस्था र व्यक्तिहरू थप सक्रियताकासाथ अघि बढेका छन्।

यो ऐक्यबद्धता नेपाली समुदायमा मात्रै सीमित छैन। भोटेकोशी बाढीपछि बेलायतबाट नेपालका लागि मानवीय सहयोगको प्रतिबद्धता पनि आएको छ। नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धका बीच कठिन घडीमा प्राप्त हुने यस्तो सहयोगले दुई देशबीचको सम्बन्धको मानवीय पक्षसमेत उजागर गर्छ।

तर अहिलेको विपत्तिले फेरि एउटा पुरानो प्रश्न राज्यसामु उभ्याएको छ—विदेशमा रहेका नेपालीलाई नेपालले विपत्तिका बेला सहयोगदाताका रूपमा मात्रै सम्झने कि राष्ट्र निर्माणका दीर्घकालीन साझेदारका रूपमा पनि हेर्ने?

गैरआवासीय नेपालीका नागरिकता, सम्पत्ति, लगानी तथा अन्य अधिकारका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ। यी विषयमा कानुनी, संवैधानिक र राजनीतिक जटिलता आफ्नै ठाउँमा छन्। तर देशलाई आवश्यक पर्दा प्रवासी नेपालीले देखाउँदै आएको अपनत्व र योगदानलाई त्यसबाट अलग राखेर पनि हेर्नुपर्ने हुन्छ। उनीहरूको योगदान विपत्तिका बेला पठाइने रकममा मात्रै सीमित छैन। विदेशमा आर्जन गरेको सीप, ज्ञान, अन्तर्राष्ट्रिय सम्पर्क, लगानी, पर्यटन प्रवद्र्धन र नेपालको पक्षमा विश्वभर निर्माण हुने सद्भाव पनि डायस्पोरासँग जोडिएको महत्वपूर्ण शक्ति हो।

महाभूकम्पका भग्नावशेषदेखि कोभिड महामारीका कठिन दिनसम्म र अहिले भोटेकोशीको बाढीले प्रभावित बस्तीसम्म प्रवासी नेपालीका सहयोगी हात पटक–पटक पुगेका छन्। संकट सकिएपछि त्यही हात र त्यससँग जोडिएको मनलाई बिर्सनु हुँदैन भन्ने आवाज पनि प्रवासी समुदायभित्र बलियो छ।

आज बेलायतमा देखिएको सहयोगको लहरले फेरि एउटा सन्देश दिएको छ, विदेशिएका नेपालीको घर बेलायत, अमेरिका, अस्ट्रेलिया, जापान वा संसारको जुनसुकै कुनामा बनेको किन नहोस्, नेपालमा विपत्ति पर्दा उनीहरूको मन मातृभूमितिरै फर्किन्छ।

त्यसैले ‘एकपटकको नेपाली, सधैँको नेपाली’ अधिकारको नारा मात्रै होइन, सम्बन्ध, जिम्मेवारी र भावनाको अभिव्यक्ति पनि हो। अझ भन्नुपर्दा—‘एकपटकको मन, सधैँका लागि नेपाली मन।’

अब त्यो मनको मूल्यांकन विपत्तिको घडीमा मात्रै होइन, सामान्य अवस्थामा पनि कसरी गर्ने भन्ने प्रश्न नेपाल राज्यसामु छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...