काठमाडौँ — कांग्रेसको १५औं महाधिवेशनको सुरक्षा व्यवस्था सीसीटीभीबाट निगरानी गरिने भएको छ भने सडकमा ७ सयभन्दा बढी प्रहरी खटिनेछन् ।काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दिलिप घिमिरेले भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा महाधिवेशन लक्षित गरी कमान्ड पोस्ट राखिएको जनाए । खुल्लामञ्चमा महाधिवेशनको उद्घाटन र बन्दसत्रको कार्यक्रम हुनेछन् । खाना, खाजाका लागि भृकुटीमण्डपमा मेस सञ्चालन गरिएको छ ।
मनोनय दर्ता लगायत निर्वाचन समिति कार्यक्रम राष्ट्रिय सभा गृहमा हुने कांग्रेसले जनाएको छ । ‘ती क्षेत्रमा सीटीटीभी जडान गरी सुरक्षा व्यवस्थाको निरीक्षण गर्ने व्यवस्था मिलाएका छौं,’ एसएसपी घिमिरेले भने, ‘७ सयभन्दा प्रहरी सडकमा खटिनेछन् । त्यसबाहेक सादा पोसाकमा पनि प्रहरी खटाएका छौं ।’
धरहरादेखि दरबारमार्ग क्षेत्रमा पार्किङ
महाधिवेशनमा सहभागी हुन आउनेका लागि खुलामञ्चभन्दा बाहिर आसपासका क्षेत्रमा नै पार्किङको व्यवस्था गरिएको प्रहरीले जनाएको ।
महाधिवेशनस्थलमा पुग्ने निजी सवारीसाधनका लागि धरहराको भूमिगत पार्किङ, पुरानो बसपार्क, भृकुटीमण्डप, राष्ट्रिय सभागृह, प्रज्ञा-प्रतिष्ठान तथा दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्था गरिएको काठमाडौं प्रहरी परिसर र ट्राफिक प्रहरीले जनाएको छ । उपत्यकाबाहिरबाट प्रतिनिधि बोकेर आउने ठूला बसका लागि माइतीघरदेखि भद्रकालीसम्मको सडकको एक लेन प्रयोग गर्ने व्यवस्था मिलाइएको छ ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, बालाजु, नयाँ बसपार्क, सुन्धारा र कलंकीलगायत क्षेत्रका होटलहरुमा बसोबासको व्यववस्था गरिएको छ । खाना र खाजा भृकुटीमण्डपमा सञ्चालन हुने मेसमा पार्टीले खुवाउने भएपनि बसोबासका प्रबन्ध भने प्रतिनिधि आफैंले गर्नुपर्नेछ ।
महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ । उद्घानपछि सोमबार र मंगलबार बन्दसत्र तथा बुधबार र बिहीबार नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।