ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

२०औँ एसियन गेम्स आइची–नागोयाको आइतबार समापन हुँदैछ। दुई साताभन्दा लामो खेलकुद यात्राको अन्त्यसँगै एसियाको खेल महाशक्तिको तस्वीर फेरि एकपटक उस्तै देखिएको छ—चीन शीर्षमा, आयोजक जापान दोस्रो, दक्षिण कोरिया तेस्रो र भारत चौथो।

चीनले १६९ स्वर्णसहित कुल ३४१ पदक जित्दै पदक तालिकामा आफ्नो दबदबा कायम राख्यो। चीनले ८९ रजत र ८३ कांस्य पनि जित्यो। आयोजक जापान ८३ स्वर्ण, ९५ रजत र ९१ कांस्यसहित २६९ पदकका साथ दोस्रो रह्यो। दक्षिण कोरियाले ३९ स्वर्ण, ४३ रजत र ६८ कांस्यसहित १५० पदक जितेर तेस्रो स्थान हासिल गर्‍यो। भारतले २१ स्वर्ण, २७ रजत र ३७ कांस्य गरी ८५ पदक जित्दै चौथो स्थानमा प्रतियोगिता टुंग्यायो।

भारतका लागि यो संस्करण विशेष रह्यो। सुटिङ, आर्चरी, गल्फ, बक्सिङ, कुस्ती, हक्की, क्रिकेटलगायत खेलमा भारतले ऐतिहासिक सफलता हात पार्‍यो। पुरुष क्रिकेटमा पाकिस्तानलाई हराएर स्वर्ण जितेको भारतले पुरुष हक्कीमा पनि स्वर्ण जित्यो। महिला गल्फमा प्रनावी उर्सले एसियाली खेलकुदको व्यक्तिगत स्वर्ण जित्ने पहिलो भारतीय खेलाडीको इतिहास बनाइन्। सुटिङकी नीरु धनडाले व्यक्तिगत ट्रापमा भारतको लामो प्रतीक्षा अन्त्य गर्दै स्वर्ण जितिन् र मिश्रित ट्रापमा पनि स्वर्ण थपिन्।

चीन भने समग्र प्रदर्शनमा फेरि अरूभन्दा धेरै अगाडि रह्यो। पौडीमा १३ वर्षीया चिनियाँ खेलाडी यु जिदीले तीन स्वर्ण जित्दै प्रतियोगिताकै चर्चित खेलाडीमध्ये आफूलाई उभ्याइन्। आयोजक जापानले ८३ स्वर्ण जिते पनि चीनसँगको दूरी ठूलो रह्यो। दक्षिण कोरियाले ३९ स्वर्ण जित्दा गल्फर टम किमको स्वर्ण पनि चर्चामा रह्यो।

नेपालका लागि भने २०औँ एसियाली खेलकुद अपेक्षाअनुसार हुन सकेन। दुई कास्य पदकमा सीमित हुँदै नेपालले प्रतियोगिता टुंग्याएको छ। नेपालका लागि करातेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीले कास्य जिते।

तेन्जिङले पुरुष ८४ केजीमाथिको कुमितेमा लाओसका वाथाना जायसानलाई ९–१ ले पराजित गर्दै नेपाललाई पहिलो पदक दिलाएका थिए। सेमिफाइनलमा इरानका महमुद नेमातीसँग ५–० ले पराजित भएपछि तेन्जिङले कांस्यका लागि भएको खेलमा प्रभावशाली जित निकाले।

त्यसपछि महिला कबड्डी टोलीले नेपालको पदक संख्या दुई पुर्‍यायो। समूह चरणमा थाइल्यान्डलाई हराए पनि चिनियाँ ताइपेइसँग पराजित भएको नेपालले अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ ले हराउँदै लगातार दोस्रो एसियाली खेलकुदमा सेमिफाइनल यात्रा तय गरेको थियो। सेमिफाइनलमा भारतसँग ४८–२४ ले पराजित भएपछि नेपालले कांस्यमै चित्त बुझायो।

यो महिला कबड्डीको लगातार दोस्रो एसियाड कास्य हो। हाङझाउमा पनि नेपाली महिला कबड्डी टोलीले कांस्य जितेको थियो।

रजतको निरन्तरता रोकियो

नेपालको यसपटकको प्रदर्शनलाई पछिल्ला संस्करणसँग तुलना गर्दा निराशाजनक देखिन्छ। २०१८ जकार्ता–पालेम्बाङ एसियाडमा नेपालले प्याराग्लाइडिङबाट रजत जितेको थियो। २०२२ हाङझाउ एसियाडमा पनि नेपालका लागि  करातेकी एरिका गुरुङको रजतसँगै कास्य जितेको थियो। तर आइची–नागोयामा नेपालले रजत जित्न सकेन र दुई कांस्यमै सीमित भयो।

अझ पछाडि फर्केर हेर्दा २०१४ इन्चोनमा नेपालले एक मात्र कास्य जितेको थियो। 

नेपालका धेरै खेलाडी प्रारम्भिक वा दोस्रो चरणमै रोकिए। केही खेलाडीले राष्ट्रिय कीर्तिमान बनाए पनि ठूलो मञ्चमा पदकमा रूपान्तरण गर्न सकेनन्। यसले नेपाली खेलकुदमा अन्तर्राष्ट्रिय तयारी, खेलाडी छनोट, प्रशिक्षण, पूर्वाधार र प्रतियोगितापूर्व योजनामाथि फेरि प्रश्न उठाएको छ।

तर महिला कबड्डी र तेन्जिङको कास्यले नेपाली टोलीलाई पदकविहीन हुनबाट जोगायो। विशेषगरी कबड्डीले लगातार दुई एसियाडमा पदक जितेर आफूलाई नेपालका भरपर्दा टिम खेलमध्ये एकका रूपमा स्थापित गरेको छ।

आइची–नागोयाको खेलकुद यात्रा आइतबार साँझ औपचारिक रूपमा सकिँदैछ। नागोया सिटी मिजुहो पार्क एथलेटिक स्टेडियममा हुने समापन समारोह स्थानीय समयअनुसार साँझ ६ बजे सुरु हुनेछ। उद्घाटन समारोह पनि यही रंगशालामा भएको थियो।

समापन समारोहमा खेलाडीहरूको परेडसहित २०औँ एसियाली खेलकुदको औपचारिक अन्त्य हुनेछ। त्यसपछि एसियाली खेलकुदको झन्डा अर्को संस्करणको आयोजक दोहालाई हस्तान्तरण गरिनेछ।

आइची–नागोयाले चीनको निरन्तर प्रभुत्व, जापानको घरेलु मैदानको बलियो प्रदर्शन र भारतको चौथो स्थानसहित एसियाली खेलकुदको बदलिँदो शक्ति सन्तुलन देखाएको छ। नेपालका लागि भने दुई कास्य पदक उपलब्धिको रूपमा रहे पनि २०१८ र २०२२ को रजत पदकबाट यसपटक पछि हटेको प्रदर्शनले नेपाली खेलकुदको आगामी यात्राका लागि गम्भीर समीक्षा आवश्यक रहेको संकेत गरेको छ।

त्यसैले नेपालका लागि आइची–नागोया केवल दुई कास्यको कथा होइन, अर्को एसियाडअघि कहाँ कमजोरी भयो र अब के सुधार गर्नुपर्छ भन्ने प्रश्न छाडेर गएको एसियाड पनि बनेको छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय