काठमाडौँ । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको आयोजनामा नुवाकोटको विदुरस्थित देवीघाटमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा निःशुल्क मुटु स्वास्थ्य परीक्षण तथा परामर्श शिविर सञ्चालन हुने भएको छ।
भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित भएका नागरिकहरूको स्वास्थ्य सेवामा सहयोग पुर्याउने उद्देश्यले यो शिविर आयोजना गर्न लागिएको हो। शिविर आगामी असोज २१ गते, बुधबारका दिन बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
शिविरमा वरिष्ठ मुटु रोग विशेषज्ञहरूद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श प्रदान गरिनेछ। यस क्रममा मुटुको विद्युतीय जाँच, मुटुको भिडियो एक्सरे, रक्तचाप परीक्षण, रगतमा चिनीको मात्रा परीक्षण, मुटुरोगीहरूको पुनः परीक्षण तथा चिकित्सकको सल्लाह अनुसार निःशुल्क औषधि वितरण गरिनेछ।
स्वास्थ्य परीक्षणका लागि आउने बिरामीहरूलाई आफ्ना पुराना मेडिकल रिपोर्टहरू र हाल सेवन गरिरहेका औषधिको विवरण सम्भव भएसम्म साथमै लिएर आउन आग्रह गरिएको छ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।