काठमाडौँ — इन्टरनेट सेवाप्रदायकहरूले ५० एमबीपीएसभन्दा कम गतिको सस्तो प्याकेज बिक्री तथा नवीकरण नगर्ने घोषणा गरेका छन् । यस निर्णयको सेवाप्रदायक, नियामक र उपभोक्ता अधिकारकर्मीले फरक–फरक व्याख्या गरेका छन् ।विवादका मुख्य पक्षलाई हामीले ५ बुँदामा बुझाउने प्रयास गरेका छौं ।
सेवाप्रदायकले के निर्णय गरेका छन् ?
इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान) ले १६ असोजमा विज्ञप्ति जारी गर्दै १९ असोजदेखि सुपथ मूल्य र कम गतिको प्याकेज बिक्री तथा नवीकरण नगर्ने घोषणा गरेको छ । यो निर्णय नयाँ प्याकेज लिने ग्राहकमा लागू हुने र पहिले नै सेवा खरिद गरिसकेकाको पुरानो प्याकेज अवधि नसकिएसम्म सेवा जारी रहने आइस्पानका अध्यक्ष सुधीर पराजुलीले बताएका छन् ।
यस्तो निर्णय लिनुपर्ने कारण के हो ?
आइस्पानले अन्तर्राष्ट्रिय बजारको आर्थिक दबाब, उच्च मुद्रास्फीति, इन्धन तथा फाइबरको मूल्य वृद्धि र एआईका कारण इलेक्ट्रोनिक्स उपकरणको लागत बढेको जनाएको छ । अध्यक्ष पराजुलीले डलरको दर, राउटर तथा फाइबरको मूल्य बढेकाले साना प्याकेज धान्न कठिन भएको बताएका छन्। उनका अनुसार घर–घरमा जोडिने इन्टरनेट डिभाइसको संख्या बढ्नु, भिडियो कन्टेन्ट उपभोग गर्ने संख्या ठूलो हुनु र इन्टरनेट साह्रै स्लो भएको गुनासो धेरै आएकाले साना प्याकेज हटाउनुपरेको हो । साथै, रिसेलर वा फ्रेन्चाइजहरूले आईएसपीसँग कम ब्यान्डविथको सस्तो प्याकेज किन्ने तर ग्राहकलाई महँगो मूल्यमा बेच्ने प्रवृत्ति पनि देखिएको पराजुलीको भनाइ छ ।
नियामकको धारणाचाहिँ के छ ?
नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ प्याकेज ल्याउन वा पुराना प्याकेज बन्द गर्न पूर्वस्वीकृति अनिवार्य रहेको जनाएको छ । प्राधिकरणका अनुसार सेवाप्रदायकले जानकारी वा पूर्वस्वीकृति नलिई एकतर्फी रूपमा प्याकेज बन्द गर्न पाउँदैनन् । उपभोक्तालाई महँगो प्याकेज लिन बाध्य पारिएको वा नियमविपरीत काम भएको पाइए छानबिन गरी कदम चाल्ने प्राधिकरणको भनाइ छ
उपभोक्तामाथि पर्ने आर्थिक प्रभाव कस्तो छ ?
यसअघि २० वा ३० एमबीपीएसको प्याकेज लिँदा उपभोक्ताले मासिक करिब ९ सयदेखि १ हजार रुपैयाँसम्म तिर्दै आएका थिए। अब धेरैजसो सेवाप्रदायकको ५० एमबीपीएस प्याकेजका लागि करबाहेक मासिक करिब १ हजार १ सयदेखि १ हजार २ सय रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ । आइस्पान अध्यक्ष पराजुलीले थोरै रकम थपेर गुणस्तरीय सेवा पाइने दाबी गरेका छन् भने अधिकारकर्मीहरूले विद्यार्थी, किसान, साना व्यापारी र न्यून आय भएका नागरिक बढी प्रभावित हुने बताएका छन्।
इन्टरनेटका ग्राहक कति छन् ?
प्राधिकरणको पछिल्लो एमआईएस प्रतिवेदनअनुसार नेपालमा तारसहितको ब्रोडब्यान्ड इन्टरनेटका कुल ग्राहक संख्या ३५ लाख ६३ हजार ८ सय ७५ पुगेको छ । देशभर ५३.४० प्रतिशतमा फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट पुगेको छ । बजारमा ३१.२२ प्रतिशत हिस्सा वर्ल्डलिंक कम्युनिकेसन्सले ओगटेको छ । यसका ११ लाख २२ हजार ९४ ग्राहक छन् । दोस्रोमा, नेपाल टेलिकमका ४ लाख २ हजार १ सय ३२ (११.१९ प्रतिशत), भायानेटका ३ लाख ८० हजार ९ सय ३७ (१०.६० प्रतिशत), डिसहोमका ३ लाख ७४ हजार ६ सय २८ (१०.४२ प्रतिशत), क्लासिक टेकका ३ लाख ६ सय ५३ (८.३७ प्रतिशत) र सुबिसुका २ लाख ७२ हजार २ सय ७० (७.५८ प्रतिशत) ग्राहक छन् ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।