मकवानपुर । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी प्रदेश सभा निर्वाचनपछि बागमती प्रदेशमा आफ्नो पार्टीको सरकार बन्ने दाबी गरेका छन् ।
बागमती प्रदेशमा सरकार गठन गर्ने आधार तयार भइसकेको दाबी गर्दै उनले उज्यालो नेपाल पार्टी प्रदेशमा मात्रै सीमित नरही सङ्घीय सरकारको नेतृत्व गर्ने उद्देश्यसहित अघि बढेको बताएका हुन् ।
मंगलबार हेटौँडामा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी घिसिङले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै बागमतीमा सरकार गठन गरेपछि सङ्घीय सरकारको नेतृत्वसमेत उज्यालो नेपालले गर्ने दाबी गरे । उज्यालो नेपालको उद्देश्य केवल सत्ता प्राप्ति नभई देशको आर्थिक रूपान्तरण, सुशासन कायम गर्ने र विभेद अन्त्य गर्ने प्रमुख लक्ष्य रहेको उनले स्पष्ट पारे ।
अध्यक्ष घिसिङले उज्यालो नेपाल कुनै जाति, धर्म वा समुदाय विशेषको पार्टी नभएको बताए । आफू तामाङ समुदायमा जन्मिए पनि आफ्नो राजनीतिक दृष्टिकोण जातीय आधारमा नभई समग्र देशको विकास, सुशासन र आर्थिक रूपान्तरणमा केन्द्रित रहेको उनले स्पष्ट पारे । देशको आर्थिक रूपान्तरणका लागि ‘हरित क्रान्ति’लाई मुख्य आधार बनाउनुपर्नेमा जोड दिँदै उनले मध्यमार्गी राजनीतिक बाटोबाट अघि बढ्ने उद्घोष गरे ।
अध्यक्ष घिसिङले भने, ‘उज्यालो नेपाल विभेदको अन्त्य, सुशासन र समग्र देशको विकासका लागि स्थापित राजनीतिक शक्ति हो । हामी कुनै वाद–प्रतिवादमा अल्झिनुभन्दा मध्यमार्गी बाटोबाट अघि बढ्दै हरित क्रान्तिका आधारमा आर्थिक रूपान्तरणलाई प्राथमिकता दिन्छौँ । बागमती प्रदेशबाट सुरु गर्दै देशका सबै क्षेत्रमा सुशासन, विकास र समृद्धिको एजेन्डा लिएर अघि बढ्ने हाम्रो लक्ष्य हो ।’
अध्यक्ष घिसिङले वर्तमान सरकारले गठन भएको करिब ६ महिनाको अवधिमा जनतामा अपेक्षाअनुसार आशा जगाउने गरी काम गर्न नसकेको टिप्पणी गरे । जेन–जी आन्दोलनको मर्मलाई आत्मसात गर्दै सरकारले जुन गतिमा काम गर्नुपर्ने थियो, त्यसअनुसार अघि बढ्न नसकेको उनको धारणा थियो ।
यद्यपि सरकार पूर्ण रूपमा असफल भइसकेको निष्कर्षमा पुग्ने अवस्था नरहेको उनले बताए । सरकारमा सहभागी युवा वर्गमा केही गर्ने इच्छाशक्ति र उत्साह भए पनि अनुभव, विज्ञता र आवश्यक क्षमताको कमी देखिएको उनको भनाइ छ ।
अध्यक्ष घिसिङले भने, ‘सरकारले ६ महिनामा केही क्षेत्रमा काम गर्न खोजे पनि जनताले अपेक्षा गरेको गति र परिणाम देखिन सकेको छैन । रणनीतिक विकास निर्माण र सुशासनका क्षेत्रमा सरकारले स्पष्ट सन्देश दिन सकेको छैन । म सरकारलाई असफल भन्दिनँ, तर जनताले अपेक्षा गरेअनुसारको परिणाम दिन अब थप गति, स्पष्ट योजना र प्रभावकारी कार्यान्वयन आवश्यक छ ।’
अध्यक्ष घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपा नेतृत्व जिम्मेवार रहेको आरोप लगाए । रास्वपासँग एकीकरण गर्ने निर्णय नै उज्यालो नेपालका लागि गलत भएको निष्कर्षमा पुगेको उनले बताए ।
एकीकरण प्रक्रियामा अघि बढेपछि त्यसपछाडि ठुलो षड्यन्त्र रहेको बुझेको दाबी उनले गरे । एकीकरणका क्रममा उज्यालो नेपालले ठुलो पद वा राजनीतिक भागबन्डाको माग गरेको भन्ने प्रचार गलत रहेको उल्लेख गर्दै सुरुमा सहमति जनाएर पछि एकतर्फी रूपमा भङ्ग गर्नुलाई उनले ‘राजनीतिक अपराध’को संज्ञा दिए ।
अध्यक्ष घिसिङले भने, ‘हामी रास्वपासँगको एकीकरण प्रक्रियामा अघि बढेका थियौँ, तर सहमति भएको १२ दिनपछि त्यसलाई एकतर्फी रूपमा भङ्ग गरियो । उज्यालो नेपालले ठुला माग राखेर पछि हटेको भन्ने भाष्य निर्माण गरिए पनि वास्तविकता त्यस्तो थिएन । सहमति गरेर कार्यान्वयन नगरी एकतर्फी रूपमा तोड्नु राजनीतिक इमानदारी विपरीतको गम्भीर विषय हो ।’
अध्यक्ष घिसिङले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीले देशव्यापी रूपमा सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिलाई तीव्र पारिरहेको जानकारी दिए । स्थानीय तहदेखि प्रदेश र संघसम्म पार्टीको उपस्थिति बलियो बनाउँदै देशको नेतृत्व गर्ने लक्ष्यका साथ उज्यालो नेपाल अघि बढिरहेको उनले बताए ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।