काठमाडौँ । सरकारले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिका प्रावधानहरू कार्यान्वयनमा कडाइ गरेको छ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित प्रेस ब्रिफिङका क्रममा सो जानकारी दिइएको हो।ब्रिफिङमा बोल्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि कार्यान्वयनको अवस्थाबारे दोलखा र रामेछाप जिल्लामा अनुगमन सम्पन्न गरिएको जानकारी दिए। महासन्धि कार्यान्वयनको स्थिति बुझ्न क्रमशः सबै जिल्लामा अनुगमन तथा निरीक्षण गरिने उनले बताए।यसैगरी धनकुटा, सुनसरी र मोरङका कारागार तथा हिरासतमा रहेका थुनुवा र कैदीबन्दीको मानव अधिकारको अवस्थाबारे समेत सरकारले अनुगमन गरेको छ। कैदीबन्दीको मानव अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराइएको प्रवक्ता अर्यालले जानकारी दिए।
यसैबिच सरकारले असोज २२ देखि २८ गतेसम्म सिंहदरबारस्थित सबै मन्त्रालय र परिसरमा ‘सरसफाइ सप्ताह’ सञ्चालन गरेको छ। अभियानलाई प्रभावकारी बनाउन प्रत्येक मन्त्रालयमा एक जना फोकल पर्सन तोकिएको छ।
‘मन्त्रालयहरूमा फोकल पर्सनमार्फत सरसफाइ भए-नभएको नियमित अनुगमन तथा निरीक्षण गरिनेछ,’ प्रवक्ता अर्यालले भने, ‘सरसफाइसम्बन्धी गतिविधिको नियमित विवरण प्रधानमन्त्री कार्यालयमा बुझाउने गरी व्यवस्था मिलाइएको छ।’
नागरिकका गुनासाहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्नका लागिसमेत सरकारले काम गरिरहेको उनले बताए।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।