सुर्खेत । कर्णाली प्रदेशकाका सभामुखदेखि सांसदहरूले दसैँ भत्ता बुझेर आ–आफ्नो गाउँतर्फ लागेका छन् ।प्रदेश सभा सचिवालयका अनुसार, सांसददेखि सभामुखसम्मको चाडपर्व भत्ता शीर्षकमा साढे १७ लाख रकम भुक्तानी भएको छ ।
प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले असोज महिनाको पारिश्रमिकसँगै चाडपर्व भत्ता पनि खातामा भुक्तान गरिएको बताए ।सभामुख नन्दा गुरुङले ६१ हजार ४८०, विपक्षी दलका नेता जीवनबहादुर शाही तथा उपसभामुख यशोदा न्यौपानेले ५८/५८ हजार रुपैयाँ चाडपर्व खर्च बुझिसकेका छन् ।
यस्तै, सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतक तथा विषयगत समितिका अध्यक्षहरूले ५६ हजार ८४० रुपैयाँ बराबर चाडपर्व खर्च प्राप्त गरेका छन् ।
कर्णाली प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ अनुसार पदाधिकारी र सदस्यहरूले आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार मनाइने चाडपर्वका लागि खाइपाइ आएको एक महिनाको पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ ।
ऐनको यही व्यवस्थाबमोजिम सभामुखले मासिक ६१ हजार ४८० रुपैयाँ र विपक्षी दलको नेता तथा उपसभामुखले ५८/५८ हजार रुपैयाँ मासिक पारिश्रमिक बुझ्छन् ।सत्तापक्ष र विपक्षी दलको प्रमुख सचेतक र विषयगत समितिका अध्यक्षहरूको मासिक पारिश्रमिक ५६ हजार ८४० रुपैयाँ छ ।
सभामा चार वटा विषयगत समिति छन् । यद्यपि अहिले एउटा समिति सभापतिविहीन अवस्थामा छ । ३ जना समितिका सभापति रहेका छन् ।यस्तै, कर्णालीमा नेकपा एमालेले प्रमुख सचेतक नियुक्त गर्न सकेको छैन । नेपाली कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसका गरी दुई जना प्रमुख सचेतक रहेका छन् । दुई जना प्रमुख सचेतक र ३ जना समितिका सभापतिको पारिश्रमिकमा मासिक २ लाख ८४ हजार खर्च हुन्छ ।
यस्तै, प्रदेश सभाका प्रति सदस्यको मासिक पारिश्रमिक ५२ हजार ६०० रुपैयाँ छ । मुख्यमन्त्री र मन्त्रीहरू गरी ७ जना बाहेक पदाधिकारी र सांसदको सङ्ख्या ३३ छ ।
सभामुख, उपसभामुख, विपक्षी दलको नेता, समितिका अध्यक्ष र प्रमुख सचेतक सङ्ख्या ८ छ । बाँकी २५ जना सांसदको पारिश्रमिक मा मासिक १३ लाख १५ हजार खर्च हुन्छ ।
यद्यपि अहिले पूर्वमुख्यमन्त्री राजकुमार शर्माको सांसद पद गुमिसकेको छ । प्रदेश सभाका लेखा अधिकृतका अनुसार, असोज महिनाको उनको १२ दिन जतिको पारिश्रमिक मात्रै भुक्तानी भएको छ ।
योसँगै सभामुखदेखि सचेतक, समितिका अध्यक्ष, सांसद गरी ३२ जनाले साढे १७ लाख बराबर रकम दसैँखर्च बुझेका छन् ।
प्रदेश सभाको बर्खे अधिवेशन भदौ २९ गते नै अन्त्य भइसकेको थियो । त्यससँगै फुर्सदिला बनेका सांसदहरूले वीरेन्द्रनगर छाड्न थालिसकेका थिए । यस्तै, कर्णालीका मन्त्री पनि आ–आफ्नो गृह जिल्लातर्फ प्रवेश गर्न थालिसकेका छन् ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।