नयाँदिल्ली । बलिउडको बहुप्रतीक्षित मेगा बजेट चलचित्र ‘रामायण पार्ट–१’ बिहीबारदेखि प्रदर्शनमा आएको छ ।
निर्देशक नितेश तिवारीको निर्देशन तथा नमित मल्होत्राको निर्माणमा बनेको चलचित्रले भव्य दृश्य र अत्याधुनिक दृश्य प्रभाव (भीएफएक्स) मार्फत रामायणको कथालाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने प्रयास गरेको छ ।
तर, चलचित्रमा दृश्यको भव्यता भए पनि भावनात्मक पक्ष कमजोर रहेको समीक्षकहरूले औँल्याएका छन् ।
करिब चार हजार करोड भारतीय रुपैयाँको बजेटमा बनेको यो चलचित्र भारतीय चलचित्र इतिहासकै महँगो निर्माणमध्ये एक हो । चलचित्रमा रणबीर कपूरले राम, साई पल्लवीले सीता र यशले रावणको भूमिका निर्वाह गरेका छन् । त्यस्तै, रवि दुबे लक्ष्मण, अरुण गोविल दशरथ, रकुल प्रीत शूर्पणखा, लारा दत्ता कैकेयी र अनुपम खेरले जटायुको आवाज दिएका छन् ।
चलचित्रको सुरुवात रावणको जन्म, तपस्या, शक्ति प्राप्ति र लंका विजयका प्रसङ्गबाट हुन्छ । त्यसपछि कथा अयोध्या पुग्छ र रामको जन्मदेखि वनवाससम्मका घटनालाई प्रस्तुत गरिएको छ ।
फिल्म समीक्षक आकाश खरेका अनुसार, चलचित्रको सबैभन्दा बलियो पक्ष यसको दृश्य प्रभाव र भव्यता मानिएको छ । लंका, अयोध्या, वन, देवता र असुरबीचको युद्ध तथा जटायु र रावणबीचको भिडन्त आकर्षक देखिन्छन् । विशेषगरी जटायु र रावणबीचको युद्धलाई चलचित्रको उत्कृष्ट दृश्यका रूपमा उल्लेख गरिएको छ ।
अभिनयतर्फ यश र अरुण गोविल सबैभन्दा प्रभावशाली देखिएका छन् । रावणको अहंकार र शक्तिलाई यशले प्रभावकारी ढङ्गले प्रस्तुत गरेका छन् । दशरथको भूमिकामा अरुण गोविलले भावनात्मक अभिनय गरेका छन् ।
तर, रामको भूमिकामा रणबीर कपूर अपेक्षाअनुसार प्रभावशाली देखिएका छैनन् । उनको अभिनयमा रामको शालीनता प्रस्तुत गर्ने प्रयास भए पनि कतिपय दृश्यमा स्वाभाविकता अभाव देखिएको समीक्षकको टिप्पणी छ । सीताको भूमिकामा साई पल्लवीले ठीकठाक अभिनय गरे पनि राम र सीताबीचको भावनात्मक सम्बन्ध स्थापित हुन नसकेको समीक्षा गरिएको छ । लक्ष्मणको भूमिकामा रवि दुबेको संवाद र अभिनय पनि कमजोर मानिएको छ ।
चलचित्रको अर्को कमजोरी पात्रहरूको विकास र भावनात्मक गहिराइको अभाव हो । विशेषगरी राम र सीताको सम्बन्ध तथा अन्य सहायक पात्रलाई पर्याप्त समय दिइएको छैन । सङ्गीतकार एआर रहमान र हान्स जिमरको ब्याकग्राउन्ड म्युजिकले पनि अपेक्षाअनुसार प्रभाव पार्न नसकेको समीक्षकको ठहर छ ।
अधिकांश रेटिङमा चलचित्रलाई पाँचमध्ये तीन तारा दिएको भारतिय संचारमाध्ययले उल्लेख गरेका छन् । भव्य दृश्य र भीएफएक्सका कारण चलचित्र हेर्नलायक भए पनि भावनात्मक रूपमा दर्शकसँग जोडिन नसकेको फिल्म समीक्षकहरूको निष्कर्ष छ ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।