ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत शुक्रबार दुई खेल हुँदैछन् । पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदा दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुनेछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुवै खेलले टोलीहरूको प्लेअफ यात्रामा महत्त्वपूर्ण प्रभाव पार्ने देखिन्छ । शुक्रबारको पहिलो खेलमा समान ४ अंक बनाएका कर्णाली र सुदूरपश्चिमबिच प्रतिस्पर्धा हुनेछ। तर कर्णालीले एक खेल कम खेलेको छ ।

दोस्रो खेलमा भने चितवन र पोखरा जितको खोजीमा हुनेछन् । चितवनले यसअघि एक खेल जितेको छ भने पोखरा तीनवटै खेलमा पराजित भएको छ । त्यसैले दुवै टोलीका लागि शुक्रबारको खेल अंकतालिकामा सुधार गर्ने अवसर हुनेछ ।

दिउँसो साढे १२ बजे सुरु हुने खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोलीले जारी प्रतियोगितामा समान दुई खेल जितेका छन् । तर कर्णालीले तीन खेल खेल्दा एकमा पराजय भोगेको छ भने सुदूरपश्चिमले चार खेल खेलिसकेको छ ।

कर्णालीले प्रतियोगिताको सुरुवात जनकपुर बोल्ट्सलाई १९ रनले हराउँदै गरेको थियो । दोस्रो खेलमा विराटनगर किङ्ग्ससँग ४ विकेटको जित निकाल्दै कर्णालीले लगातार दोस्रो सफलता हात पारेको थियो । तर तेस्रो खेलमा काठमाडौँ गोर्खाजसँग ४ विकेटले पराजित भएपछि उसको अपराजित यात्रा टुङ्गिएको थियो ।

काठमाडौँसँग पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो । तर काठमाडौँले १९.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । यस खेलमा कर्णालीले राम्रो ब्याटिङ गरे पनि जित जोगाउन सकेन ।

तीन खेलबाट चार अंक जोडेको कर्णालीको नेट रनरेट प्लस ०.२९५ छ । अंक बराबर भएका टोलीमध्ये राम्रो नेट रनरेटका कारण कर्णालीको अवस्था तुलनात्मक रूपमा बलियो छ ।

कर्णालीका लागि कप्तान सोमपाल कामी, साहिबजादा फरहान, गुलशन झा र अन्य ब्याटरको प्रदर्शन महत्त्वपूर्ण हुनेछ । यसै खेलबाट दक्षिण अफ्रिकी अनुभवी ब्याटर डेभिड मिलरले पनि एनपीएलमा डेब्यु गर्दैछन् । उनी नेपाल आइपुगेका छन् ।

अर्कोतर्फ सुदूरपश्चिमले प्रतियोगिताको पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटको हार बेहोरेको थियो । त्यसपछि पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै पुनरागमन गरेको सुदूरपश्चिम विराटनगरसँग पाँच ओभरको खेलमा ३५ रनले पराजित भएको थियो । तर चौथो खेलमा चितवन राइनोजलाई ५ विकेटले हराउँदै टोलीले दोस्रो जित निकालेको थियो ।

चार खेलबाट चार अंक जोडेको सुदूरपश्चिमको नेट रनरेट माइनस १.०६४ छ । त्यसैले शुक्रबार कर्णालीलाई हराउँदै अंक बढाउनुका साथै नेट रनरेट सुधार गर्ने अवसर पनि टोलीसँग हुनेछ ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, सैफ जैब, ब्रान्डन म्याकमुलन, स्कट कुगेलाइन र शेरफेन रदरफोर्ड टोलीका महत्त्वपूर्ण खेलाडी हुन् ।

एनपीएलका अघिल्ला दुई संस्करणमा कर्णाली र सुदूरपश्चिमबिच दुई पटक प्रतिस्पर्धा भएको छ । दुवै खेलमा सुदूरपश्चिम विजयी भएको छ । अर्थात् कर्णालीले अहिलेसम्म सुदूरपश्चिमलाई हराउन सकेको छैन ।

पहिलो संस्करणमा कर्णालीले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । सुदूरपश्चिम ६ विकेटले विजयी भएको थियो ।

दोस्रो संस्करणमा सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो । जवाफमा कर्णाली १९.२ ओभरमा ९४ रनमै समेटिएको थियो । सुदूरपश्चिम ४५ रनले विजयी भएको थियो ।

शुक्रबारको दोस्रो खेल बेलुका साढे ४ बजे चितवन राइनोज र पोखरा एभेन्जर्सबिच हुनेछ । जारी प्रतियोगितामा चितवनले एक खेल जितेको छ भने पोखरा जितविहीन छ ।

चितवनले प्रतियोगिताको पहिलो खेलमा विराटनगर किङ्ग्सलाई ८ रनले पराजित गर्दै सुखद सुरुवात गरेको थियो । दोस्रो खेलमा लुम्बिनी लायन्ससँगको खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका थिए ।

तर तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ५ विकेटले पराजित भएपछि चितवनको जितको लय रोकिएको थियो । तीन खेल खेलेको चितवनले एक जित, एक हार र एक खेलको नतिजा नआउँदा तीन अंक जोडेको छ। टोलीको नेट रनरेट माइनस ०.४८६ छ ।

चितवनका लागि कप्तान कुशल मल्ल, रञ्जित कुमार, सिकन्दर राजा र अन्य विदेशी खेलाडीको प्रदर्शन महत्त्वपूर्ण हुनेछ । टोलीले यस संस्करणमा आफ्नो ब्याटिङ र बलिङ दुवै पक्षमा सुधार गर्दै प्लेअफ पुग्ने लक्ष्य राखेको छ ।

अर्कोतर्फ पोखरा एभेन्जर्सका लागि जारी प्रतियोगिता सुखद हुन सकेको छैन । पहिलो खेलमा सुदूरपश्चिमसँग ६ विकेटले पराजित भएको पोखरा दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग ९ रनले हारेको थियो । तेस्रो खेलमा लुम्बिनी लायन्ससँग ८ विकेटको हार बेहोरेपछि पोखरा लगातार तीन खेलमा पराजित भएको छ ।

तीन खेलबाट कुनै अंक जोड्न नसकेको पोखरा तालिकाको पुछारमा छ । टोलीको नेट रनरेट माइनस १.७७० छ । त्यसैले शुक्रबारको खेल पोखराका लागि प्रतियोगितामा पुनरागमन गर्ने महत्त्वपूर्ण अवसर हुनेछ ।

पोखराका लागि कप्तान कुशल भुर्तेल, चमिका करुणारत्ने, रवी बोपारा तथा अन्य विदेशी खेलाडीको प्रदर्शन महत्त्वपूर्ण हुनेछ । विशेषगरी ब्याटिङमा राम्रो सुरुवात गर्न नसक्नु पोखराको मुख्य समस्या देखिएको छ ।

एनपीएलका अघिल्ला दुई संस्करणमा चितवन र पोखराबिच दुई पटक प्रतिस्पर्धा भएको छ । दुवै टोलीले एक–एक खेल जितेका छन् ।

पहिलो संस्करणमा चितवनले पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनाएको थियो । जवाफमा पोखरा १३.२ ओभरमा ७४ रनमै समेटिएको थियो । चितवनले ८७ रनको फराकिलो जित निकालेको थियो ।

दोस्रो संस्करणमा चितवनले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १२० रन बनाएको थियो । पोखराले १९.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। पोखरा ८ विकेटले विजयी भएको थियो । यसरी दुई भेटमा चितवन र पोखराको जित बराबरी छ । शुक्रबारको खेल जित्ने टोलीले एकअर्कासँगको जितको संख्या बढाउनेछ ।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय