बुटवल । नेपाली कांग्रेसको गाउँ–नगर अधिवेशनअन्तर्गत नवलपरासीको सुनवल नगरपालिकाको अधिवेशन विवादका कारण स्थगित भएको छ। जिल्लाका अन्य पालिकामा नयाँ नेतृत्व चयन भइसके पनि सुनवलमा भने पदाधिकारी चयनका लागि मतदान हुन सकेन।
सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल नभएपछि बिहीबार निर्वाचन प्रक्रिया अघि बढाइएको थियो। निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरी मतदानको तयारी गरिरहेका बेला विवाद भएपछि मतदान स्थगित गरिएको निर्वाचन अधिकृत दीपक अर्यालले बताए।
उनका अनुसार पदाधिकारीका लागि मतदान हुनुअघि कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल निर्वाचन स्थलमा पुगेका थिए। कँडेलले माइक खोसेर फालेको र निर्वाचनसम्बन्धी फाइल च्यातेपछि विवाद उत्पन्न भएको अर्यालले बताए।
विवाद बढेपछि शान्ति सुरक्षाको अवस्था कायम राख्दै निर्वाचन गर्न नसकिने भन्दै निर्वाचन समितिले सूचना जारी गरेर निर्वाचन प्रक्रिया स्थगित गरेको हो।अब निर्वाचन कहिले गर्ने भन्ने विषयमा दुवै पक्षका उम्मेदवारसँग छलफल भइरहेको भए पनि नयाँ मिति तय भइनसकेको निर्वाचन अधिकृत अर्यालले बताए।
निर्वाचन प्रक्रिया अघि बढिरहेका बेला कँडेलसहित उनका पक्षका कार्यकर्ताले मतदान शुक्रबार सार्नुपर्ने अडान राखेका थिए। अर्को पक्षले भने मतदानका लागि आवश्यक सबै तयारी पूरा भइसकेको र मतदातासमेत निर्वाचन स्थलमा उपस्थित भइसकेकाले तत्काल मतदान हुनुपर्ने अडान राखेपछि विवाद भएको कांग्रेसका स्थानीय नेताहरूले बताएका छन्।
सुनवल नगर अधिवेशनमा ३ सय ५६ जना मतदाता छन्। नगर कार्यसमितिका सदस्य भने सर्वसम्मत चयन भइसकेका छन्। पदाधिकारीका लागि मात्र मतदान हुन बाँकी थियो।सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि दुवै पक्षले प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। सभापति पदमा यमलाल पाण्डे र यज्ञप्रसाद पाण्डेले उम्मेदवारी दिएका छन्।
कांग्रेसका स्थानीय कार्यकर्ताका अनुसार यमलाल पाण्डे भीमबहादुर थापा ‘भरत’ पक्षका र यज्ञप्रसाद पाण्डे देवेन्द्रराज कँडेल पक्षका उम्मेदवार हुन्।घटनाप्रति नेपाली कांग्रेस नवलपरासी जिल्ला कार्यसमितिले प्रेस विज्ञप्तिमार्फत आपत्ति जनाएको छ। जिल्ला कार्यसमितिले निर्वाचन प्रक्रियामा अवरोध भएको भन्दै घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेको हो।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।