गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घले र उनकी श्रीमती जमुना गुरूङ घलेको लगानीमा निर्माण भइरहेको होटल सञ्चालनको अन्तिम चरणमा पुगेको छ।
काठमाडौंमा बनिरहेको यो होटल ‘द लक्जरी कलेक्सन होटल बाई म्यारिएट’ को व्यवस्थापनमा चल्नेछ। यो म्यारिएटको दक्षिण एसियाकै पहिलो लक्जरी कलेक्सन होटल हुनेछ।
दुई महिनाअघि नै यसको सम्झौता भइसकेको शेष घलेले बताएका छन्। अहिले म्यारिएट इन्टरनेसनलका डेभिड म्यारिएट सहितको टोली नेपाल आएका बेला होटलको भ्रमण तथा निरीक्षण गरेको छ।
उनका अनुसार सन् २०१३ देखि निर्माणाधीन होटलमा सुरूमा करिब ८ अर्ब रूपैयाँ लगानी अनुमान गरिएको थियो। तर लगानी बढ्दै १५ अर्ब रूपैयाँभन्दा बढी पुग्ने अनुमान रहेको उनले बताए।
होटलको निर्माण कार्य अब तीनदेखि चार महिनाभित्र सम्पन्न हुने अपेक्षा रहेको पनि उनले बताएका छन्।
होटललाई ‘द लक्जरी कलेक्सन बाई म्यारियट’ ब्रान्डअन्तर्गत सञ्चालन गर्न आवश्यक नाम दर्ताका लागि आवेदन दिइसकिएको पनि उनले बताए।
यसको स्वीकृति एक-दुई साताभित्र प्राप्त हुन्छ होला,’ घलेले भनेका छन्।
होटलको निर्माण तथा सञ्चालन म्यारिएटको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुनेछ।
