ट्रेण्डिङ
शनिबार, 28 नोभेम्बर 2026

काठमाडौँ । रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ५ स्थित नीलकण्ठ माध्यमिक विद्यालय, बोगटीटारमा अध्ययनरत एक सय विद्यार्थी बेपत्ता छन् । हराएका विद्यार्थीको यकिन तथ्याङ्क पनि अझै आइसकेको छैन । दुई सय विद्यार्थी क्षमताको छात्राबास भवन उपलब्ध भए पनि विद्यालय सञ्चालनमा आउन सकेको छैन ।

प्रधानाध्यापक माधव लामिछानेले विद्यालय सुरक्षित ठाउँमै रहे पनि अनुमानित एक सयभन्दा बढी विद्यार्थी अझै हराइरहेका र उनीहरूको खोजी अब सम्भव नदेखिएको बताए । होल्डिङ सेन्टर र आफन्तको घरमा बुझ्दा केही विद्यार्थी भेटिए पनि अब खोज्ने ठाउँ बाँकी नरहेको उनको भनाइ छ ।

लामिछानेले भने, ‘धेरै बालबालिका अभिभावकविहीन भएका र दुवै अभिभावक (बुवाआमा) गुमाएका ५७ जना बालबालिका पहिचान भएका छन्, थप विवरण आउन बाँकी छ ।’ उनका अनुसार भदौ २५ गते बिहीबारदेखि विद्यालय सञ्चालन भए पनि कतिपय विद्यार्थी नुवाकोट तथा रसुवाका होल्डिङ सेन्टरमा रहेका र सडक सञ्जाल नहुँदा फर्कन सकेका छैनन् । लामिछानेले मनोसामाजिक परामर्शसँगै विद्यार्थीलाई नियमितताको आभास गराउन, खेलकुद र दैनिक २–३ वटा विषयका २०–२५ मिनेटका कक्षा सञ्चालन गरिरहेको बताए । भने, ‘विद्यालय सुरक्षित रहे पनि बस पर्खिरहेका बेला सडकबाटै विद्यार्थीहरू हराए । २०७२ को भूकम्पबाट विस्थापित भई खाल्टे र नौबिसे क्षेत्रमा बसेका परिवारका घर तथा जग्गा बाढीले बगाएकाले उनीहरू पूर्ण रूपमा घरबारविहीन भएका छन् ।’नुवाकोटतिर रहेका बालबालिकालाई ल्याउन आवासीय व्यवस्थापनबाहेक अन्य विकल्प नरहेको प्रअ लामिछानेले बताए । बाढीमा परी विद्यालयका तीन जना शिक्षक र एक जना स्टाफ नर्स गरी चार जना पनि बेपत्ता भएका उनले जानकारी दिए । तत्काल स्टेसनरी वा कपडाजस्ता साना सहयोगभन्दा पनि विद्यार्थीलाई राख्न कम्तीमा दुइ सय क्षमताको आवासीय छात्रावास, हेरविचार गर्ने आमा, खाना पकाउने मान्छे र त्यसको खर्चको व्यवस्थापन पनि सरकारले गरिदिनुपर्ने उनको माग छ ।

तर शिक्षा मन्त्रालयलाई पटक–पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएकोमा उनले दुःख व्यक्त गरे । अहिले बालबालिका होल्डिङ सेन्टर र टेन्टमै रहेका उनले बताए । सरकारले डाटा संकलन र अन्य संस्थाको आश्रयमा अल्झाउनुभन्दा चाँडै आवास बनाइदिनुपर्ने उनको माग थियो । नीलकण्ठमा चार सय ९६ जना विद्यार्थी अध्ययनरत थिए ।

रसुवा धुन्चेस्थित हाइल्यान्ड बोर्डिङ स्कुलका प्रधानाध्यापक निवेश श्रेष्ठले बाढीका कारण विद्यालयको भौतिक संरचनामा क्षति नभए पनि मानवीय हिसाबले ठुलो क्षति भोग्नुपरेको बताए । श्रेष्ठका अनुसार बाढीका कारण विद्यालयका ९ जना विद्यार्थी बेपत्ता छन् भने ३२ जना अभिभावक सम्पर्कविहीन छन् । एक जना अभिभावकको शव फेला परेको र अरूको अझै खोजी जारी छ ।

र पनि २६ गतेदेखि विद्यालय भने सञ्चालनमा आइसकेको छ । विद्यालयको कुल ४७८ जना विद्यार्थीमध्ये हालसम्म करिब ३२० जना विद्यालय फर्किसकेका छन् । बाँकी विद्यार्थी काठमाडौँ, रिबिम, गत्लाङ र थुमनलगायत स्थानमा बाटो नभएका कारण वा अन्य कठिनाइले गर्दा फसेका छन्, जसलाई सम्पर्क गरेर फर्काउने प्रयास भइरहेको छ ।

अभिभावक गुमाएका विद्यार्थीहरूको हकमा उनीहरूलाई कक्षा १० सम्म कसरी निरन्तर पढाउन सकिन्छ भन्ने विषयमा विद्यालयले आफ्नै दीर्घकालीन योजना र जिम्मेवारीका रूपमा अगाडि बढाउने सोच बनाएको बताए । उनले भने, ‘बाढी ठुलो विपत्ति भएकाले १२ वर्षपछि मात्र मृत घोषणा गर्न मिल्ने वर्तमान कानुनका कारण क्षतिपूर्ति र राहत पाउन कानुनी जटिलता आउन थालेको छ । मृत घोषणाको प्रक्रियालाई छिटो अगाडि बढाइदिनुपर्छ । बाढीले भत्काएका र बगाएका अन्य विद्यालयका विद्यार्थीहरूलाई यो शैक्षिक सत्रभरि पढ्ने उचित वातावरण मिलाइदिन सरकारसँग मेरो अनुरोध छ ।’

रसुवा टिमुरेस्थित राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक फुर्पु घलेका अनुसार चीन सरकारले बनाइदिएको चारतले, २८ कोठाको अत्याधुनिक (साइन्स र कम्प्युटर ल्याबसहितको) नमुना विद्यालयको संरचना पूर्ण रूपमा विनाश भई मरुभूमिमा परिणत भएको छ । सञ्चालनमा आएको दुई वर्षमै विद्यालयमा भएको यो क्षतिपछि हाल स्थानीयवासी मृतकहरूको शोकमा डुबेका छन् ।

घलेले भने, ‘धर्म–संस्कृतिअनुसार मृतकहरूको आत्मशान्तिका लागि ४९ दिनसम्म घेवा तथा पाठपूजा गर्ने काम भइरहेको छ । यो सांस्कृतिक कार्य सम्पन्न भएपछि मात्र पुनर्निर्माण र पठनपाठनका विषयमा थप अगाडि बढ्ने योजनामा छौ ।’

विपत्तिमा विद्यालयका ६ जना शिक्षक, २५ जना विद्यार्थी र कुल १४७ जना आफन्तहरू बेपत्ता अथवा सम्पर्कविहीन भएका छन् । बचेका केही विद्यार्थीहरू मुस्ताङ गुम्बा र ललितपुरतिर बसिरहेका छन् भने कतिपय अझै सम्पर्कमा छैनन् । उनले भने, ‘यो विद्यालयमा कक्षा १ देखि ८ सम्म पढाइ हुन्थ्यो, जहाँ ८० प्रतिशत विद्यार्थी रुकुम, रोल्पा, सल्यान र जाजरकोटलगायत क्षेत्रबाट आई सीमानाकामा काम गर्ने सिजनल मजदुरका बालबच्चाहरू थिए भने २० प्रतिशत मात्र स्थानीय थिए ।’

घलेका अनुसार घटनाको समयमा नियमित आउने ३० देखि ३५ जना विद्यार्थीहरू त्यहाँ थिए । शिक्षा मन्त्रालयबाट अहिलेसम्म भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्यका विषयमा व्यक्तिगत वा प्रत्यक्ष रूपमा कुनै ठोस योजना प्राप्त भइनसकेको उनले बताए । सरकारले नाका र बाटो खुलाउनुका साथै भूगर्भविद्हरूद्वारा अध्ययन गराएर विद्यालय र बस्ती पुनर्वासका लागि सुरक्षित स्थान (२–३ किलोमिटर आसपासको समथर भाग) को व्यवस्थापन गरिदिनुपर्ने विद्यालय प्रशासनको अपेक्षा छ । घलेले भने, ‘सीमानाकामा भौतिक संरचना, समाज र विद्यालय नै रहेन भने शिक्षक जाने वा विद्यार्थी पढ्ने कल्पना पनि गर्न सकिँदैन । त्यसैले पठनपाठन सुरु गर्नुअघि पूर्वाधार निर्माण र पुनर्वासको व्यवस्थापन हुनु अपरिहार्य देखिएको छ ।’

 

नाका खुलेर अवस्था सहज भएपछि बिस्तारै पठनपाठनलाई अगाडि बढाउने सोच बनाइएको बताए ।

शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटका प्रमुख सूर्यबहादुर खत्रीका अनुसार तारकेश्वर गाउँपालिकाकाका २ वटा र विदुर नगरपालिकाका ८ वटा विद्यालय प्रभावित भएका छन्, जसमध्ये त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयमा सबैभन्दा बढी अनुमानित २ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । त्रिभुवन त्रिशुली माविको कभर्डहल, सामुदायिक भवन र अस्थायी सिकाइ केन्द्र पूर्ण रूपमा लेदो र पहिरोले बगाएर नष्ट बनाएको छ । यस्तै, धादिङका १० वटा विद्यालयमा क्षति पुगेको छ ।

३८ वटा विद्यालयमा क्षति, दुई सय ६८ वटा कक्षाकोठा प्रभावित

शिक्षा विभागले तयार पारेको नेपाल शिक्षा क्लस्टरको प्रतिवेदन अनुसार धादिङ, नुवाकोट र रसुवाका ३८ वटा विद्यालय भवन र दुई सय ६८ वटा कक्षाकोठाहरूमा क्षति पुगेको छ । प्रारम्भिक अद्यावधिक विवरणअनुसार ६३ वटा शैक्षिक संस्था प्रभावित हुँदा १४ हजार ५०० भन्दा बढी बालबालिकाको सिकाइमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अवरोध पुगेको छ ।

बाढीले रसुवा जिल्लास्थित टिमुरे बजारको नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरे, मालिका देवी आधारभूत विद्यालय पहिरेवेशी, चिप्लेटी आधारभूत विद्यालय सल्लेटार, र मोडर्न ट्रिनिटी इङ्लिस स्कुल बेत्रावती पूर्ण रूपमा नष्ट भए । केही विद्यालयहरू कोमिन श्यामे वाङफेल मावि र नीलकण्ठ मावि सुरक्षित रहे पनि तिनीहरू हाल ‘होल्डिङ सेन्टर’ (राहत केन्द्र) को रूपमा सञ्चालन भइरहेका छन् भने ती विद्यालयहरूमा मानवीय क्षति भएको तथा मनोसामाजिक अवस्थामा नकरात्मक प्रभाव परेको छ ।

यस्तै, नुवाकोटको  ज्ञानकुञ्ज बोर्डिङ स्कुल, चण्डेश्वरी माध्यमिक विद्यालय, पायोनिअर बोर्डिङ स्कुल, जेडी बोर्डिङ स्कुल, त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, रामचन्द्र आधारभूत विद्यालय, त्रिशूली सामुदायिक बोर्डिङ स्कुल र उत्तरगया पब्लिक इङ्लिस स्कुलमा आंशीक क्षति पुगेको छ ।

 

बाढीले धादिङको बागेश्वरी मावि, सक्सेस एकेडेमी, जलेश्वरी मावि, अम्लेश्वर गुरुकुल संस्कृत वेदविद्याश्रम लगायतमा क्षति पुर्‍याएको छ ।

अनाथ बालबालिकालाइ होस्टेलमा सुरक्षित राख्न सुझाव 

शिक्षा विभागले तयार पारेको रसुवा बाढीको क्षतिसम्बन्धी द्रुत मूल्यांकन प्रतिवेदनले बाढीप्रभावित क्षेत्रका बालबालिकाको पठनपाठन सुचारु गर्न र उनीहरूको सुरक्षा सुनिश्चित गर्न विभिन्न महत्त्वपूर्ण सिफारिसहरू गरेको छ ।

प्रतिवेदनअनुसार टिमुरे र स्याफ्रुवेशी क्षेत्रका पूर्ण रूपमा क्षतिग्रस्त विद्यालयका विद्यार्थीहरूलाई कोमिन श्यामे वाङफेल विद्यालय, नवविजय मावि वा नीलकण्ठ माविजस्ता छात्रावास सुविधा भएका सुरक्षित विद्यालयहरूमा स्थानान्तरण गरी पढाइ सञ्चालन गर्न सुझाव दिइएको छ ।

बालबालिकालाई अस्थायी सिकाइ केन्द्रको साटो स्थायी संरचनामा सिकाउनुपर्नेमा जोड दिँदै आमाबुबा गुमाएका अनाथ बालबालिकालाई घरेलु कामदार वा मानव तस्करीको जोखिमबाट जोगाउन तत्काल खोजी गरी विद्यालयको होस्टेलमा सुरक्षित राख्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, पठनपाठन अवरुद्ध गरिरहेका विद्यालय परिसरका होल्डिङ तथा राहत केन्द्रहरूलाई तत्काल नचलेका कलेज, होस्टेल वा भाडाका भवनहरूमा सार्न स्थानीय तहसँग सहकार्य गर्नुपर्ने सिफारिस गरिएको छ । विद्यालयहरूमा पाठ्यपुस्तक, शैक्षिक सामग्री र इसिडी  किटहरूको तत्काल आपूर्ति गर्नुका साथै बाढीप्रभावित विद्यार्थी र शिक्षकहरूका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्न अपरिहार्य ठहर्‍याइएको छ ।

स्थानीय तह, वडा कार्यालय र शिक्षा अधिकारीहरूसँगको समन्वयमा बेपत्ता र विस्थापित विद्यार्थीहरूको यकिन तथ्याङ्क संकलन गर्न र शिक्षक नभएका विद्यालयहरूमा तत्काल प्रशासनिक व्यवस्थापन मिलाउन प्रतिवेदनले ताकेता गरेको छ । मानसिक आघातमा परेका शिक्षक, कर्मचारी, बालबालिका तथा होल्डिङ सेन्टरमा रहेका सबैका लागि निरन्तर मनोपरामर्शको व्यवस्था गर्न सुझाव दिइएको छ ।

शिक्षा विभागका निर्देशक नीलकण्ठ ढकालका अनुसार बाढी प्रभावित क्षेत्रका विद्यार्थीहरूलाई मनोसामाजिक परामर्श प्रदान गरेपछि मात्र नियमित कक्षा सञ्चालन गर्न सम्बन्धित स्थानीय तहहरूलाई निर्देशन दिइएको छ ।

प्रभावित विद्यालयका विद्यार्थीहरूमा भय, त्रास, तनाव तथा अन्य मनोसामाजिक असर पर्न सक्ने भएकाले पठनपाठन सुरु गर्नुअघि उनीहरूको मनोसामाजिक अवस्था बुझ्न र आवश्यक सहयोग उपलब्ध गराउन अति जरुरी देखिएकाले यो निर्णय लिइएको विभागले जनाएको छ ।

विपद्का कारण विद्यार्थीहरूको सिकाइमा पर्न सक्ने प्रतिकूल प्रभाव न्यूनीकरण गर्दै सुरक्षित तथा बालमैत्री वातावरणमा विद्यालय सञ्चालन गर्न सम्बन्धित विद्यालय, स्वास्थ्य संस्था र अन्य सरोकारवाला निकायबिच सहजकीकरण र समन्वय गर्नुपर्ने कुरामा जोड दिइएको छ ।

 

कहाँ कति क्षति ? 

रसुवा
विद्यार्थी बेपत्ताः २८५ जना
दुवै अभिभावक गुमाएका विद्यार्थीः ४० जना
शिक्षक–कर्मचारी बेपत्ताः १६ जना
विद्यालय क्षतिः १४ वटा

नुवाकोट

विद्यार्थी बेपत्ताः २२७ जना
विद्यार्थी मृत्यु पुष्टिः २ जना
शिक्षण संस्था क्षतिः १० विद्यालय, १ प्राविधिक शिक्षालय, एक क्याम्पस, एक शैक्षिक तालिम केन्द्र
शिक्षक बेपत्ताः ११ जना
शिक्षक–कर्मचारी मृत्युः २ जना
विद्यालय क्षतिः १४ वटा

धादिङ
विद्यालय क्षतिः १० वटा
स्रोतः शिक्षा विभाग

 

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय