पुराना लेखहरूमा अहिलेका खड्काहरूलाई “खड्गाह” लेखिने गरेको पाइन्छ । (वालकृष्ण पोखरेल–पाँच सय वर्ष, पृष्ठ ६–७)
“खड्गाह” शब्दको निर्वचन गर्दै प्रसिद्ध इतिहासकार तथा अनुसन्धाता योगी नरहरिनाथले षड्गाह–खड्गग्राह–खड्गग्रह–खड्गग्राही–खड्गधारी भनी उल्लेख गर्नुकासाथै अधिकारी, कार्की, खड्गाह, बुढाथापा, अडै इत्यादि शब्द राज्याधिकारसूचक हुन् र राज्याधिकार सूचक पदहरू पुराना हुँदै थरमा रूढ भएका छन् भन्नुभएको छ । (योगी नरहरिनाथ–इतिहास प्रकाश, अंक २, भाग १, पृष्ठ ५२)
त्यसैगरी, इतिहासविद् तथा अनुसन्धाता धनवज्र बज्राचार्यले खड्का सरकारी पदलाई बुझाउने शब्द हो र यसबाट खड्ग लिने राजाका अंगरक्षक “खड्गाह” कहलाउँथे र पछि यो शब्द थर बन्न गएको देखिन्छ भन्नुभएको छ । (कर्णाली प्रदेश एक बिटो अध्ययन, पृष्ठ ५०)
अर्का इतिहासविद् पूर्णप्रकाश नेपाल ‘यात्री’ का अनुसार मध्यकालीन राज्यव्यवस्थाका सैनिक संगठनको तालिका अध्ययन गर्दा खड्काको तात्पर्य गुल्मपति वा शास्त्रागारको प्रमुख पद थियो भन्ने जानिन्छ । (प्राचीच नेपाल, संख्या ८१, बैशाख–जेठ २०४१, पृष्ठ ६, नेपाली खण्ड)
इतिहासविद् डा. राजाराम सुवेदीका अनुसार कर्णाली प्रदेशको खसमल्ल राज्यमा खड्ग लिई सुरक्षार्थ राज्यसेनामा खटिएका व्यक्तिलाई खड्ग्राह वा खड्गाह भनिन्थ्यो । त्यही खड्ग्राह शब्दको अवशेष वा प्रतिबिम्ब बोकेको समुदाय भन्नु नै खड्का हो । युद्धकालमा खड्गसिद्धि गरेर जेठी तरबार लिएर विजय हासिल गरेको व्यक्तिलाई खड्का भनिन्थ्यो । खड्का भन्ने कुनै थर नभएर क्षमताको पहिचान, राज्यसञ्चालकको परिचायक र सैन्य नेतृत्वशाली क्षमताको द्योतक भन्ने बुझिन्छ । त्यसैले खड्का हुनु कुनै सहज र हल्का जिम्मेवारीको पद मानिदैनथ्यो । (डा. राजाराम सुवेदी–पुँवार खड्का वंशावली २०६६, पृष्ठ २५ र २७)
माथिका सबै कथन तथा उद्धरणहरू उपर विचार गर्दा सुरुमा खड्ग लिएर देवदेवी वा राजाको अंगरक्षकको रूपमा काम गर्ने गरेको कारण त्यस्तो काम गर्ने व्यक्तिलाई “खड्गग्राह” भनियो होला । कालान्तरमा त्यही खड्गग्राह शब्दको अपभ्रंश “खड्गाह” र अहिलेको “खड्का” भएको अनुमान गर्न सकिन्छ । यी शब्दले कुनै समयमा सरकारी पदलाई बुझाउने गरेको र त्यसपछि थर बन्न आएको देखिन्छ । यसबाहेक, गोपाल राजवंशावलीमा खड्ग लिनेलाई “खड्गग्राह” भन्ने उल्लेख भएकोबाट पनि यस कुराको पुष्टि हुन्छ ।
यी आधारहरूबाट “खड्का” शब्द पहिले जातिसूचक नभई पेसासूचक थियो र पछि मात्र यसलाई जातिसूचक मान्न लागिएको पाइन्छ । यसबाट के थाहा हुन्छ भने पुँवार खड्काहरूको जाति “क्षत्री” हो । पेशा वा काम विशेषबाट यिनीहरूको थर “खड्का” बन्यो र पुँवार वंशका भएको कारण यिनीहरूलाई “पुँवार” भनिएको हो ।
वीर योद्धा र भारदार मात्र होइन, यी पुँवार खड्काहरूले विभिन्न ठाउँमा स्वयं राजा भएर राज्य चलाएको कुरा पनि इतिहासमा पढ्न पाइन्छ ।
एक समयमा डोटीको ढिक् पुर्चौडीमा पुँवारवंशी राजा रहेको कुरा वंशावलीमा उल्लेख भएको छ । (चन्द्रबहादुर खड्का–चिलंखे खड्का एक छोटो चिनारी, २०४४, पृष्ठ ५ र डा. राजाराम सुवेदी–पुँवार खड्का वंशावली, २०६६, पृष्ठ २२)
डोटीको मकारीकोटमा पनि कुनै समयमा पुँवारवंशी राजा चतुरी खड्काले राज्य गरेका थिए । (पूर्णप्रकाश नेपाल ‘यात्री’ अनुसार)
योगी नरहरिनाथले कोटकाँडानेरको चौकोटलाई पनि पुँवार खड्काहरूको पुरानो राज्य हो भन्नुभएको छ । (योगी नरहरिनाथ–इतिहास प्रकाशमा सन्धिपत्र संग्रह, पृष्ठ ७७९)
यसबाहेक थलहरा (हाल बझाङमा पर्ने), जुम्लाको फानचौर भन्ने टाकुरा, कालिकोट, गोरखा आदि ठाउँमा पनि खड्काहरूले समय–समयमा राज्य गरेको कुरा विभिन्न लेखहरूमा पढ्न पाइन्छ । तर त्यसरी त्यहाँ राज्य गरेका खड्काहरू कुन वंशका हुन् भन्ने कुरा लेखहरूमा नखुलेको हुँदा खुल्न आएका बखत अरू विवरण प्रकाशित गरिने छ ।
२०८३।१।२०
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।