दांग-तुलसीपुर उपमहानगरपालिकाको फोहोर बोक्ने गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार मोटरसाइकलसँग ठोक्किएपछि स्कुटर चालक सडकमा लडेकी थिइन्। त्यसलगत्तै पछाडिबाट आइरहेको फोहोर बोक्ने गाडीले उनलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
डिएसपी पराजुलीका अनुसार दिउँसो साढे १२ बजेतिर तुलसीपुर बजारबाट राप्ती राजमार्ग हुँदै दक्षिण गुम्ह्रा चोकतर्फ तुलसीपुर उपमहानगरपालिकाको फोहोर बोक्ने रा १ ग २२ गाडी (टिपर) र केसी सवार रा ४ प ७९४५ नम्बरको स्कुटर एकै दिशामा गइरहेका थिए। त्यही क्रममा केसी सवार स्कुटीलाई दक्षिणबाट उत्तर बजारतर्फ जाँदै गरेको क.प्र. ०२–००३ प २४४९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।
दुर्घटनामा संलग्न मोटरसाइकल चालक र फोहोर बोक्ने गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।राप्ती राजमार्ग अन्तगर्त तुलसीपुर उपमहानगरपालिका – ६ गुम्ह्राचोक र मदन आस्रित चोकको बीचमा दिउँसो दुर्घटना भएको थियो।दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
