त्रिभुवन विश्वविद्यालय (त्रिवि) को दीक्षान्त समारोहमा भाग लिन देशभरबाट विद्यार्थी काठमाडौं आउनुपर्ने बाध्यता हटेको छ ।त्रिवि कार्यकारी परिषद्ले प्रदेशस्तरमै दीक्षान्त समारोह आयोजना गर्ने निर्णय गरेसँगै अघिल्ला वर्षहरूमा जस्तै यस वर्षंदेखि दीक्षान्त समारोहमा सहभागी हुनकै लागि विद्यार्थी काठमाडौं धाउन नपर्ने भएको छ । त्रिविले पहिलोपटक प्रदेशगत रूपमा दीक्षान्त समारोह आयोजना गर्न लागेको हो ।
त्रिविले आयोजना गर्न लागेको ५२औँ दीक्षान्त समारोहमा १ असार २०८२ देखि ३१ जेठ २०८३ सम्ममा सेमेस्टर तथा वार्षिक परीक्षा प्रणालीअनुसार स्नातक, स्नातककोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थी र यही अवधिभित्र विद्यावारिधि (पीएचडी) तह पूरा गर्ने विद्यार्थीहरू सहभागी हुन सक्नेछन् ।
बागमती प्रदेश केन्द्र, कोशी प्रदेश केन्द्र, मधेश प्रदेश केन्द्र, गण्डकी प्रदेश केन्द्र, लुम्बिनी प्रदेश केन्द्र, कर्णाली प्रदेश केन्द्र र सुदूरपश्चिम केन्द्र गरी सातै प्रदेशमा दीक्षान्त समारोहका लागि केन्द्र तोकिएको छ ।
एमफिल र पीएचडी तथा टपर र मेडल प्राप्त गर्नेहरूलाई विद्यार्थीहरूका लागि भने बागमती प्रदेश केन्द्र तोकिएको छ । यसबाहेक अन्य विद्यार्थीहरूले आफूलाई पायक पर्ने सातै प्रदेशका केन्द्रमध्ये एक छनोट गर्न सक्नेछन् ।
फरक–फरक मितिमा हुने छ समारोह
दीक्षान्त समारोह एकैपटक आयोजना हुने छैन । केन्द्रअनुसार फरक–फरक मितिमा हुनेछ । अनलाइन आवेदन दिँदा नै विद्यार्थीहरूले आफूलाई पायक पर्ने केन्द्र छनोट गर्न पाउनेछन् । एकपटक केन्द्र छनोट भएपछि परिवर्तन गर्न नपाइने त्रिविले जनाएको छ ।
पुस मसान्तसम्म दीक्षान्त कार्यक्रम गरिसक्नुपर्ने व्यवस्था छ । तर, त्रिवि सभाले पूर्णता नपाएकाले यस वर्ष दीक्षित हुने विद्यार्थीको ‘ग्रेस लिस्ट’ पारित हुन सकेको छैन । साथै, दीक्षित हुने विद्यार्थीको विवरण पनि सभाबाट पारित भएको छैन ।
५२औँ दक्षिान्त समारोहमा सहभागी हुन योग्य विद्यार्थीहरूले १ असोज २०८३ देखि १२ कात्र्तिक २०८३ सम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।