काठमाडौँ । रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ५ स्थित नीलकण्ठ माध्यमिक विद्यालय, बोगटीटारमा अध्ययनरत एक सय विद्यार्थी बेपत्ता छन् । हराएका विद्यार्थीको यकिन तथ्याङ्क पनि अझै आइसकेको छैन । दुई सय विद्यार्थी क्षमताको छात्राबास भवन उपलब्ध भए पनि विद्यालय सञ्चालनमा आउन सकेको छैन ।
प्रधानाध्यापक माधव लामिछानेले विद्यालय सुरक्षित ठाउँमै रहे पनि अनुमानित एक सयभन्दा बढी विद्यार्थी अझै हराइरहेका र उनीहरूको खोजी अब सम्भव नदेखिएको बताए । होल्डिङ सेन्टर र आफन्तको घरमा बुझ्दा केही विद्यार्थी भेटिए पनि अब खोज्ने ठाउँ बाँकी नरहेको उनको भनाइ छ ।
लामिछानेले भने, ‘धेरै बालबालिका अभिभावकविहीन भएका र दुवै अभिभावक (बुवाआमा) गुमाएका ५७ जना बालबालिका पहिचान भएका छन्, थप विवरण आउन बाँकी छ ।’ उनका अनुसार भदौ २५ गते बिहीबारदेखि विद्यालय सञ्चालन भए पनि कतिपय विद्यार्थी नुवाकोट तथा रसुवाका होल्डिङ सेन्टरमा रहेका र सडक सञ्जाल नहुँदा फर्कन सकेका छैनन् । लामिछानेले मनोसामाजिक परामर्शसँगै विद्यार्थीलाई नियमितताको आभास गराउन, खेलकुद र दैनिक २–३ वटा विषयका २०–२५ मिनेटका कक्षा सञ्चालन गरिरहेको बताए । भने, ‘विद्यालय सुरक्षित रहे पनि बस पर्खिरहेका बेला सडकबाटै विद्यार्थीहरू हराए । २०७२ को भूकम्पबाट विस्थापित भई खाल्टे र नौबिसे क्षेत्रमा बसेका परिवारका घर तथा जग्गा बाढीले बगाएकाले उनीहरू पूर्ण रूपमा घरबारविहीन भएका छन् ।’नुवाकोटतिर रहेका बालबालिकालाई ल्याउन आवासीय व्यवस्थापनबाहेक अन्य विकल्प नरहेको प्रअ लामिछानेले बताए । बाढीमा परी विद्यालयका तीन जना शिक्षक र एक जना स्टाफ नर्स गरी चार जना पनि बेपत्ता भएका उनले जानकारी दिए । तत्काल स्टेसनरी वा कपडाजस्ता साना सहयोगभन्दा पनि विद्यार्थीलाई राख्न कम्तीमा दुइ सय क्षमताको आवासीय छात्रावास, हेरविचार गर्ने आमा, खाना पकाउने मान्छे र त्यसको खर्चको व्यवस्थापन पनि सरकारले गरिदिनुपर्ने उनको माग छ ।
तर शिक्षा मन्त्रालयलाई पटक–पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएकोमा उनले दुःख व्यक्त गरे । अहिले बालबालिका होल्डिङ सेन्टर र टेन्टमै रहेका उनले बताए । सरकारले डाटा संकलन र अन्य संस्थाको आश्रयमा अल्झाउनुभन्दा चाँडै आवास बनाइदिनुपर्ने उनको माग थियो । नीलकण्ठमा चार सय ९६ जना विद्यार्थी अध्ययनरत थिए ।
रसुवा धुन्चेस्थित हाइल्यान्ड बोर्डिङ स्कुलका प्रधानाध्यापक निवेश श्रेष्ठले बाढीका कारण विद्यालयको भौतिक संरचनामा क्षति नभए पनि मानवीय हिसाबले ठुलो क्षति भोग्नुपरेको बताए । श्रेष्ठका अनुसार बाढीका कारण विद्यालयका ९ जना विद्यार्थी बेपत्ता छन् भने ३२ जना अभिभावक सम्पर्कविहीन छन् । एक जना अभिभावकको शव फेला परेको र अरूको अझै खोजी जारी छ ।
र पनि २६ गतेदेखि विद्यालय भने सञ्चालनमा आइसकेको छ । विद्यालयको कुल ४७८ जना विद्यार्थीमध्ये हालसम्म करिब ३२० जना विद्यालय फर्किसकेका छन् । बाँकी विद्यार्थी काठमाडौँ, रिबिम, गत्लाङ र थुमनलगायत स्थानमा बाटो नभएका कारण वा अन्य कठिनाइले गर्दा फसेका छन्, जसलाई सम्पर्क गरेर फर्काउने प्रयास भइरहेको छ ।
अभिभावक गुमाएका विद्यार्थीहरूको हकमा उनीहरूलाई कक्षा १० सम्म कसरी निरन्तर पढाउन सकिन्छ भन्ने विषयमा विद्यालयले आफ्नै दीर्घकालीन योजना र जिम्मेवारीका रूपमा अगाडि बढाउने सोच बनाएको बताए । उनले भने, ‘बाढी ठुलो विपत्ति भएकाले १२ वर्षपछि मात्र मृत घोषणा गर्न मिल्ने वर्तमान कानुनका कारण क्षतिपूर्ति र राहत पाउन कानुनी जटिलता आउन थालेको छ । मृत घोषणाको प्रक्रियालाई छिटो अगाडि बढाइदिनुपर्छ । बाढीले भत्काएका र बगाएका अन्य विद्यालयका विद्यार्थीहरूलाई यो शैक्षिक सत्रभरि पढ्ने उचित वातावरण मिलाइदिन सरकारसँग मेरो अनुरोध छ ।’
रसुवा टिमुरेस्थित राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक फुर्पु घलेका अनुसार चीन सरकारले बनाइदिएको चारतले, २८ कोठाको अत्याधुनिक (साइन्स र कम्प्युटर ल्याबसहितको) नमुना विद्यालयको संरचना पूर्ण रूपमा विनाश भई मरुभूमिमा परिणत भएको छ । सञ्चालनमा आएको दुई वर्षमै विद्यालयमा भएको यो क्षतिपछि हाल स्थानीयवासी मृतकहरूको शोकमा डुबेका छन् ।
घलेले भने, ‘धर्म–संस्कृतिअनुसार मृतकहरूको आत्मशान्तिका लागि ४९ दिनसम्म घेवा तथा पाठपूजा गर्ने काम भइरहेको छ । यो सांस्कृतिक कार्य सम्पन्न भएपछि मात्र पुनर्निर्माण र पठनपाठनका विषयमा थप अगाडि बढ्ने योजनामा छौ ।’
विपत्तिमा विद्यालयका ६ जना शिक्षक, २५ जना विद्यार्थी र कुल १४७ जना आफन्तहरू बेपत्ता अथवा सम्पर्कविहीन भएका छन् । बचेका केही विद्यार्थीहरू मुस्ताङ गुम्बा र ललितपुरतिर बसिरहेका छन् भने कतिपय अझै सम्पर्कमा छैनन् । उनले भने, ‘यो विद्यालयमा कक्षा १ देखि ८ सम्म पढाइ हुन्थ्यो, जहाँ ८० प्रतिशत विद्यार्थी रुकुम, रोल्पा, सल्यान र जाजरकोटलगायत क्षेत्रबाट आई सीमानाकामा काम गर्ने सिजनल मजदुरका बालबच्चाहरू थिए भने २० प्रतिशत मात्र स्थानीय थिए ।’
घलेका अनुसार घटनाको समयमा नियमित आउने ३० देखि ३५ जना विद्यार्थीहरू त्यहाँ थिए । शिक्षा मन्त्रालयबाट अहिलेसम्म भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्यका विषयमा व्यक्तिगत वा प्रत्यक्ष रूपमा कुनै ठोस योजना प्राप्त भइनसकेको उनले बताए । सरकारले नाका र बाटो खुलाउनुका साथै भूगर्भविद्हरूद्वारा अध्ययन गराएर विद्यालय र बस्ती पुनर्वासका लागि सुरक्षित स्थान (२–३ किलोमिटर आसपासको समथर भाग) को व्यवस्थापन गरिदिनुपर्ने विद्यालय प्रशासनको अपेक्षा छ । घलेले भने, ‘सीमानाकामा भौतिक संरचना, समाज र विद्यालय नै रहेन भने शिक्षक जाने वा विद्यार्थी पढ्ने कल्पना पनि गर्न सकिँदैन । त्यसैले पठनपाठन सुरु गर्नुअघि पूर्वाधार निर्माण र पुनर्वासको व्यवस्थापन हुनु अपरिहार्य देखिएको छ ।’
नाका खुलेर अवस्था सहज भएपछि बिस्तारै पठनपाठनलाई अगाडि बढाउने सोच बनाइएको बताए ।
शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटका प्रमुख सूर्यबहादुर खत्रीका अनुसार तारकेश्वर गाउँपालिकाकाका २ वटा र विदुर नगरपालिकाका ८ वटा विद्यालय प्रभावित भएका छन्, जसमध्ये त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयमा सबैभन्दा बढी अनुमानित २ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । त्रिभुवन त्रिशुली माविको कभर्डहल, सामुदायिक भवन र अस्थायी सिकाइ केन्द्र पूर्ण रूपमा लेदो र पहिरोले बगाएर नष्ट बनाएको छ । यस्तै, धादिङका १० वटा विद्यालयमा क्षति पुगेको छ ।
३८ वटा विद्यालयमा क्षति, दुई सय ६८ वटा कक्षाकोठा प्रभावित
शिक्षा विभागले तयार पारेको नेपाल शिक्षा क्लस्टरको प्रतिवेदन अनुसार धादिङ, नुवाकोट र रसुवाका ३८ वटा विद्यालय भवन र दुई सय ६८ वटा कक्षाकोठाहरूमा क्षति पुगेको छ । प्रारम्भिक अद्यावधिक विवरणअनुसार ६३ वटा शैक्षिक संस्था प्रभावित हुँदा १४ हजार ५०० भन्दा बढी बालबालिकाको सिकाइमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अवरोध पुगेको छ ।
बाढीले रसुवा जिल्लास्थित टिमुरे बजारको नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरे, मालिका देवी आधारभूत विद्यालय पहिरेवेशी, चिप्लेटी आधारभूत विद्यालय सल्लेटार, र मोडर्न ट्रिनिटी इङ्लिस स्कुल बेत्रावती पूर्ण रूपमा नष्ट भए । केही विद्यालयहरू कोमिन श्यामे वाङफेल मावि र नीलकण्ठ मावि सुरक्षित रहे पनि तिनीहरू हाल ‘होल्डिङ सेन्टर’ (राहत केन्द्र) को रूपमा सञ्चालन भइरहेका छन् भने ती विद्यालयहरूमा मानवीय क्षति भएको तथा मनोसामाजिक अवस्थामा नकरात्मक प्रभाव परेको छ ।
यस्तै, नुवाकोटको ज्ञानकुञ्ज बोर्डिङ स्कुल, चण्डेश्वरी माध्यमिक विद्यालय, पायोनिअर बोर्डिङ स्कुल, जेडी बोर्डिङ स्कुल, त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, रामचन्द्र आधारभूत विद्यालय, त्रिशूली सामुदायिक बोर्डिङ स्कुल र उत्तरगया पब्लिक इङ्लिस स्कुलमा आंशीक क्षति पुगेको छ ।
बाढीले धादिङको बागेश्वरी मावि, सक्सेस एकेडेमी, जलेश्वरी मावि, अम्लेश्वर गुरुकुल संस्कृत वेदविद्याश्रम लगायतमा क्षति पुर्याएको छ ।
अनाथ बालबालिकालाइ होस्टेलमा सुरक्षित राख्न सुझाव
शिक्षा विभागले तयार पारेको रसुवा बाढीको क्षतिसम्बन्धी द्रुत मूल्यांकन प्रतिवेदनले बाढीप्रभावित क्षेत्रका बालबालिकाको पठनपाठन सुचारु गर्न र उनीहरूको सुरक्षा सुनिश्चित गर्न विभिन्न महत्त्वपूर्ण सिफारिसहरू गरेको छ ।
प्रतिवेदनअनुसार टिमुरे र स्याफ्रुवेशी क्षेत्रका पूर्ण रूपमा क्षतिग्रस्त विद्यालयका विद्यार्थीहरूलाई कोमिन श्यामे वाङफेल विद्यालय, नवविजय मावि वा नीलकण्ठ माविजस्ता छात्रावास सुविधा भएका सुरक्षित विद्यालयहरूमा स्थानान्तरण गरी पढाइ सञ्चालन गर्न सुझाव दिइएको छ ।
बालबालिकालाई अस्थायी सिकाइ केन्द्रको साटो स्थायी संरचनामा सिकाउनुपर्नेमा जोड दिँदै आमाबुबा गुमाएका अनाथ बालबालिकालाई घरेलु कामदार वा मानव तस्करीको जोखिमबाट जोगाउन तत्काल खोजी गरी विद्यालयको होस्टेलमा सुरक्षित राख्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, पठनपाठन अवरुद्ध गरिरहेका विद्यालय परिसरका होल्डिङ तथा राहत केन्द्रहरूलाई तत्काल नचलेका कलेज, होस्टेल वा भाडाका भवनहरूमा सार्न स्थानीय तहसँग सहकार्य गर्नुपर्ने सिफारिस गरिएको छ । विद्यालयहरूमा पाठ्यपुस्तक, शैक्षिक सामग्री र इसिडी किटहरूको तत्काल आपूर्ति गर्नुका साथै बाढीप्रभावित विद्यार्थी र शिक्षकहरूका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्न अपरिहार्य ठहर्याइएको छ ।
स्थानीय तह, वडा कार्यालय र शिक्षा अधिकारीहरूसँगको समन्वयमा बेपत्ता र विस्थापित विद्यार्थीहरूको यकिन तथ्याङ्क संकलन गर्न र शिक्षक नभएका विद्यालयहरूमा तत्काल प्रशासनिक व्यवस्थापन मिलाउन प्रतिवेदनले ताकेता गरेको छ । मानसिक आघातमा परेका शिक्षक, कर्मचारी, बालबालिका तथा होल्डिङ सेन्टरमा रहेका सबैका लागि निरन्तर मनोपरामर्शको व्यवस्था गर्न सुझाव दिइएको छ ।
शिक्षा विभागका निर्देशक नीलकण्ठ ढकालका अनुसार बाढी प्रभावित क्षेत्रका विद्यार्थीहरूलाई मनोसामाजिक परामर्श प्रदान गरेपछि मात्र नियमित कक्षा सञ्चालन गर्न सम्बन्धित स्थानीय तहहरूलाई निर्देशन दिइएको छ ।
प्रभावित विद्यालयका विद्यार्थीहरूमा भय, त्रास, तनाव तथा अन्य मनोसामाजिक असर पर्न सक्ने भएकाले पठनपाठन सुरु गर्नुअघि उनीहरूको मनोसामाजिक अवस्था बुझ्न र आवश्यक सहयोग उपलब्ध गराउन अति जरुरी देखिएकाले यो निर्णय लिइएको विभागले जनाएको छ ।
विपद्का कारण विद्यार्थीहरूको सिकाइमा पर्न सक्ने प्रतिकूल प्रभाव न्यूनीकरण गर्दै सुरक्षित तथा बालमैत्री वातावरणमा विद्यालय सञ्चालन गर्न सम्बन्धित विद्यालय, स्वास्थ्य संस्था र अन्य सरोकारवाला निकायबिच सहजकीकरण र समन्वय गर्नुपर्ने कुरामा जोड दिइएको छ ।
कहाँ कति क्षति ?
रसुवा
विद्यार्थी बेपत्ताः २८५ जना
दुवै अभिभावक गुमाएका विद्यार्थीः ४० जना
शिक्षक–कर्मचारी बेपत्ताः १६ जना
विद्यालय क्षतिः १४ वटा
नुवाकोट
विद्यार्थी बेपत्ताः २२७ जना
विद्यार्थी मृत्यु पुष्टिः २ जना
शिक्षण संस्था क्षतिः १० विद्यालय, १ प्राविधिक शिक्षालय, एक क्याम्पस, एक शैक्षिक तालिम केन्द्र
शिक्षक बेपत्ताः ११ जना
शिक्षक–कर्मचारी मृत्युः २ जना
विद्यालय क्षतिः १४ वटा
धादिङ
विद्यालय क्षतिः १० वटा
स्रोतः शिक्षा विभाग
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।