काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले विदेशी कूटनीतिक प्रतिनिधिसँगको भेटमा परम्परागत कूटनीतिक प्रोटोकलबाट अलग शैली अपनाएपछि त्यसबारे बहस भइरहेका बेला उनले विमानस्थलमा देखिने अर्को पुरानो परम्परासमेत तोड्ने भएका छन्।प्रधानमन्त्री शाह मंगलबार साँझ संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान गर्दै छन्। दोहामा छोटो ट्रान्जिटपछि उनी न्युयोर्क पुग्नेछन्।
प्रधानमन्त्रीका सहयोगी तथा परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी लाउन्जमा उनलाई परम्परागत औपचारिक बिदाइ समारोह आयोजना गरिनेछैन।विगतमा प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा विमानस्थलको भीआईपी लाउन्जमा औपचारिक कार्यक्रम आयोजना हुने गरेको थियो। त्यहाँ मन्त्री, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, विदेशी कूटनीतिज्ञ तथा राजनीतिक दलका नेताहरू प्रधानमन्त्रीलाई बिदाइ गर्न पुग्थे। नेपाली सेनाले गार्ड अफ अनरसमेत दिने परम्परा थियो।
तर, यसपटक त्यस्तो कुनै कार्यक्रम नहुने परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए। उनका अनुसार प्रधानमन्त्रीको सवारी भीआईपी लाउन्जबाट सिधै विमान पार्किङ गरिएको स्थलसम्म जानेछ।
‘प्रधानमन्त्रीलाई बिदाइ गर्न मन्त्रीहरूलाई समेत विमानस्थलमा बोलाइएको छैन,’ ती अधिकारीले भने, ‘औपचारिक कार्यक्रम, गार्ड अफ अनर र भीआईपी लाउन्जदेखि विमानसम्म जाने क्रममा रेड कार्पेट पनि हुनेछैन।’
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।