क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शुक्रबार, 25 सेप्टेम्बर 2026

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन अमेरिकी सहर न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालको कार्यसूची निकै व्यस्त देखिएको छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान न्युयोर्क आइपुगेका परराष्ट्रमन्त्री खनाल राष्ट्रसङ्घीय महासभामा भाग लिन आएका विभिन्न देशका विदेशमन्त्री तथा प्रतिनिधिमण्डलसँगको भेटघाटमा व्यस्त भएका हुन् ।

व्यस्त कार्यसूचीका बीच सोमबार साँझदेखि नै यहाँ आयोजित द्विपक्षीय, बहुपक्षीय र सामरिक रूपमा महत्त्व रहेका कार्यक्रममा सहभागिता जनाउनुका साथै उनले विभिन्न संस्थाका प्रतिनिधिसँग भेटघाट गरिरहेको संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोगले जनाएको छ ।

मन्त्री खनालले बुधबार मात्र भारतीय विदेशमन्त्री एस जयशङ्करसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । त्यस अवसरमा मन्त्री खनालले नेपालमा गत भदौ १० गते गएको रसुवाबाढीका बारेमा प्रारम्भिक जानकारी गराउँदै दुःखद् क्षणमा छिमेकी मित्रराष्ट्र भारतले नेपाललाई गरेको सहयोगको प्रशंसा गरेका थिए ।

त्यस अवसरमा भारतीय विदेशमन्त्री जयशङ्करले परराष्ट्रमन्त्री खनालमार्फत नेपाल र नेपाली जनताप्रति हार्दिक सहानुभूति व्यक्त गरेका थिए ।

त्यसैगरी, नेपालको मित्रराष्ट्र जापानका परराष्ट्रमन्त्री मोतेगी तोसिमीत्सुसँग पनि मन्त्री खनालले भेटवार्ता गरे । त्यस अवसरमा मन्त्री खनालले नेपालको हालैको विपत्तिसँग जुध्न तथा नेपाललाई परेको विपद्का बेलामा जापानले नेपाललाई गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

सो भेटका अवसरमा बाढीपछिको असहज अवस्थामा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै जापानी परराष्ट्रमन्त्रीले नेपालको आपत्कालीन अवस्थालाई दृष्टिगत गरी तत्कालीन, मध्यकालीन र दीर्घकालीन रूपमा सहयोग गर्न तयार रहेको जानकारी गराएका थिए ।

उनले आपत्कालीन सहयोगअन्तर्गत ३० लाख अमेरिकी डलर तत्कालै उपलब्ध गराइने जानकारी पनि मन्त्री खनाललाई दिएका थिए । दुवै देशका परराष्ट्रमन्त्रीहरू यहाँ आयोजित संयुक्त राष्ट्रसङ्घको महासभाअन्तर्गत ‘साइडलाइन’ बैठकमा परराष्ट्रमन्त्री तोसिमीत्सुले उक्त भनाइ राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटका अवसरमा मन्त्री तोसिमीत्सुले नेपालमा भएको महाविपत्तिको कारणले व्यहोर्नुपरेको क्षतिप्रति गहिरो समवेदना प्रकट गर्दै पीडित परिवारजनमा सहानुभूति रहेको दोहोर्‍याएका थिए ।

न्युयोर्कस्थित नेपाली मिसनका अनुसार जापानको घनिष्ठ मित्रका हैसियतले नेपाललाई यथासक्य सहयोग गर्ने जापानको चाहना रहेको पनि मन्त्री तोसिमीत्सुले भेटमा बताएका थिए ।

यसैगरी, नेपाल र जापानबीच दौत्य सम्बन्ध स्थापना भएको ७० वर्षको वर्षगाँठ यसै वर्षसमेत परेकाले त्यस अवसरमा ‘नोभेम्बर’मा काठमाडौंमा आयोजना हुने नेपाल–जापान ‘फेस्टिभल’ले दुई देशको मैत्रीवत् सम्बन्धलाई थप उचाइ पुर्‍याउने विश्वास उनले व्यक्त गरेका थिए ।

व्यस्त कार्यसूचीका बीच परराष्ट्रमन्त्री खनालले साइडलाइन भेटवार्ताअन्तर्गत नै अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरसँग भेटघाट गरे । मन्त्री खनालसँगको भेटपछि उपविदेशमन्त्री हुकरले बाढीका कारण अप्ठ्यारोमा परेको नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । लगत्तै, अमेरिकाको तर्फबाट नेपाललाई थप तीन करोड १० लाख अमेरिकी डलर उपलब्ध गराउने निर्णय सार्वजनिक भएको थियो ।

अमेरिकी विदेश मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा हुकरले भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीका कारण पीडित व्यक्ति तथा परिवारजनप्रति सहानुभूति व्यक्त गरेकी थिइन् । सोही अवसरमा उनले एक करोड अमेरिकी डलर स्थायी पुल निर्माणका लागि प्रदान गरिने जानकारी पनि गराएकी थिइन् ।

यसैगरी, उनले ८० लाख अमेरिकी डलर रकम सरसफाइ, पिउने पानी, आश्रयस्थल निर्माण र बाढी प्रभावित नागरिकको जीवनरक्षाका लागि समुदायलाई प्रदान गरिने उल्लेख गरिन् । सो विज्ञप्तिमा प्रकोपका बारेमा जानकारी दिने प्रयोजनका लागि करिब एक करोड ३० लाख अमेरिकी डलर बराबरका ड्रोन उपलब्ध गराइने पनि उल्लेख गरिएको छ ।

यसैगरी, साइडलाइन भेटवार्ताकै क्रममा परराष्ट्रमन्त्री खनालले युगान्डा, माल्दिभ्सलगायतका देशका परराष्ट्रमन्त्रीहरूसँग पनि भेटघाट गरेर जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिका बारेमा जानकारी गराएका थिए ।

व्यस्त कार्यसूचीका बीच परराष्ट्रमन्त्री खनालले जलवायु न्यायका पक्षमा ऐक्यबद्धतासहित आवश्यक सहयोगका पक्षमा सदस्य राष्ट्रहरूसँग ‘लविङ’ गरिरहेको न्युयोर्कस्थित नेपाली स्थायी नियोगले जनाएको छ ।

उनले यी भेटवार्ताका क्रममा नेपालमा जलवायु परिवर्तनका कारण विविध समस्या उत्पन्न भइरहेको र भोटेकोशी नदीमा गएको बाढी त्यसको पछिल्लो उदाहरण रहेको जानकारी गराउँदै जलवायु न्यायका लागि नेपाललाई सहयोग गर्न विश्वका नेता, आफ्ना समकक्षीहरू र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँग आग्रह गरिरहेका छन् ।

मन्त्री खनालले अमेरिकी चेम्बर अफ कमर्सका प्रतिनिधिलाई भेटेर लगानी, व्यापारलगायत विषयमा छलफल पनि गरे ।

साथै मन्त्री खनालले मंगलबार नै भारत सरकारले आयोजना गरेको ‘ग्लोबल साउथ’ कार्यक्रममा सहभागिता जनाएर मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन पनि गरे ।

यसैबीच, राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह बुधबार न्युयोर्क आइपुगेका छन् ।

प्रधानमन्त्री शाहले नेपाली समयअनुसार शुक्रबार बिहान राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गरेर स्वदेश फर्कने कार्यक्रम रहेकाले परराष्ट्रमन्त्री खनाल साइडलाइन बैठकमा व्यस्त हुने कार्यसूची छ ।

मन्त्री खनाल अरू केही दिन न्युयोर्कमै रहने भएकाले साइडलाइन भेटवार्ता एवं बैठक अरू पनि हुने कार्यसूचीमा रहेको छ । मन्त्री खनालसँगै परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र वासिङ्टन डीसीस्थित नेपाली दूतावासका प्रतिनिधि पनि सहभागी भएका छन् ।

यसैगरी, कतिपय राष्ट्रसङ्घीय साइडलाइन बैठकहरूमा संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापा पनि सहभागी छन् ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

कांग्रेसको १५औँ महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक लोगोमा...

चलिचित्र विकास बोर्ड अध्यक्षमा १२ जनाको आवेदन, छनोट समितिको बैठक बस्दै

काठमाडौँ । चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ ।सञ्चार...

सेनाको स्वास्थ्य संस्थानबाट ८५ जना चिकित्सक दीक्षित

काठमाडौँ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) उत्तीर्ण गरी इन्टर्नसिप...

१ अर्ब ३ करोडको हुण्डी कारोबारको आशंका, ५२ बैंक खाता प्रयोग गर्ने एक महिला पक्राउ

काठमाडाैँ । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीको धरानबाट एक महिलालाई पक्राउ गरेको छ।...

भारी वर्षाको जोखिमपछि दाङका पाँच सडकखण्डमा राति सवारी बन्द

दाङ, ८ असोज । भारी देखि अति भारी वर्षाको सम्भावनालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय...

राष्ट्रपतिबाट बिदा भएको चार वर्ष नपुग्दै सक्रिय राजनीतिमा फर्किइन् विद्या भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपतिको जिम्मेवारीबाट बिदा भएको चार वर्ष नपुग्दै सक्रिय पार्टी राजनीतिमा...
लोकप्रिय